काठमाडौं। चेल्सीले लिभरपुलपछि लिगको उत्कृष्ट अवे रेकर्डका साथ सिजनको सुरुआत गरेको थियो। तर, गोलकिपर फिलिप जोर्गेनसनको गल्तीका कारण इप्सविचसँग चेल्सी २–० ले पराजित हुन परेको छ।
चेल्सीले यो सिजन लगातार दुई खेलमा हार बेहोरेको यो पहिलो पटक हो । १९ खेलबाट ३५ अंक जोडेको चेल्सीले आर्सनल र नटिङ्घम फरेस्टलाई उछिन्दै दोस्रो स्थानमा उक्लने अवसर पनि गुमाएको छ।
इप्सविच २० टिमको डिभिजनमा १८ औं स्थानमा उक्लिएको छ । सन् २००२ पछि इप्सविचले प्रिमियर लिगमा पहिलो घरेलु जित हात पारेको हो। खेलको १२औं मिनेटमै चेल्सी पोर्टम्यान रोडमा इप्सविचसँग पछि परेको थियो।
स्क्यान्डिनेभियन खेलाडीले डिबक्सभित्र लियाम डेलापलाई फाउल गरेका थिए। डेलापले पाएको पेनाल्टीलाई गोलमा परिणत गरे। चेल्सीले बराबरी गोलको खोजीमा अघि बढे पनि इप्सविचले दोस्रो हाफको सुरुमै अग्रता दोब्बर बनायो ।
एक्सेल डिसासीको खराब पासले डेलापले बल पाएका थिए। उनको पासमा ओमारी हचिन्सनले आफ्नो पूर्वक्लबविरूद्ध गोल गरे।