काठमाडौं। एलेक्जेन्डर इसाकको लगातार छैटौं गोलको मद्दतमा न्युक्यासलले म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गरेको छ। रुबेन अमोरिमको टोलीले घरेलु मैदानमा सन् १९७० को दशकयताकै सबैभन्दा खराब हार बेहोरेको हो।
रेलिगेसनमा परेको इप्सविचले चेल्सीलाई २–० ले हराउँदै यो सिजन पहिलो पटक घरेलु मैदानमा जित हात पारेको छ भने एस्टन भिल्ला र ब्राइटनले २–२ को बराबरी खेलेका छन् ।
न्युक्यासलको कमान्डिङ प्रदर्शनले फेब्रुअरी १९७९ पछि पहिलो पटक युनाइटेडले लगातार तीन घरेलु लिग खेल गुमाएको छ। सन् १९६२ पछि युनाइटेडले एकै महिनामा पाँच वटा लिग खेलमा हार बेहोरेको यो पहिलो पटक हो ।
स्विडेनका स्ट्राइकर इसाकले खेलको चार मिनेटमै हेडरमार्फत न्यूक्यासललाई सुरुआती अग्रता दिलाएका थिए। योसँगै उनले ६ खेलबाट आठौं गोल पुर्याएका छन्। त्यसको १५ मिनेटपछि जोलिन्टनले लिसान्द्रले मार्टिनेजको पासमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।
अमोरिमले भने, ‘हामीले एक गोल गुमायौं र त्यसपछि पुनरागमन गर्न गाह्रो भयो।’ गत नोभेम्बरमा स्पोर्टिङ लिस्बनबाट अनुबन्धित भएका अमोरिमको टोली रेलिगेसन जोनभन्दा सात अंकले माथि छ। युनाइटेड हाल १९ खेलमा २२ अंकसहित १४औं स्थानमा छ। यो हार लिगका आठ खेलमध्ये पाँचौं हार हो । समान खेलमा ३२ अंक भएको न्यूक्यासल पाँचौं स्थानमा छ।