पाँचथर। चर्च ब्वाइज युनाइटेड क्लबले पाँचथरको फिदिममा आयोजित ११औं फाल्गुनन्द गोल्डकप जितेको छ।
पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा सोमबार सम्पन्न फाइनलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै चर्च ब्वाइजले उपाधि उचालेको हो। उपाधिसँगै चर्च ब्वाइजले १० लाख पाँच सय ५५ र उपविजेता मच्छिन्द्रले पाँच लाख पाँच सय ५५ प्राप्त गरेका छन्।
निर्धारित खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा चर्च ब्वाइजका एकराज बुढाथोकी, रोहन कार्की, विदेशी खेलाडी अबयोमी ओलुवासेन, छिरिङ लामा र सुजन डंगोलले गोल गरे।
मच्छिन्द्रका देवेन्द्र तामाङ, सनिश श्रेष्ठ, सौरभ सुब्बा र समिराज थोकरले गोल गरे। तर, दयानन्द इलाङबाङको प्रहार चर्च ब्वाइजका गोलकिपर कृशल मोक्तानले रोके।
४५औं मिनेटमा बिजु भुजेलले मच्छिन्द्रलाई सुरूआती अग्रता दिलाएका थिए। ७१औं मिनेटमा छिरिङ लामाले गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काए। ८८औं मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै मच्छिन्द्रलाई २–१ को अग्रता दिलाए। तर, अतिरिक्त पाँच मिनेटको समयमा समीर तामाङले गोल गर्दै चर्च ब्वाइजलाई टाइब्रेकरमा पुर्याए।