काठमाडौं। पोर्चगिज भेट्रान स्ट्राइकर तथा कप्तान क्रिस्टियानो रोनाल्डोले रियल मड्रिडका भिनिसियस जुनियर यस वर्षको बालोन डी’ओर अवार्डबाट बञ्चित हुनु अनुचित भएको बताएका छन्।
म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले गत अक्टोबरमा यो प्रतिष्ठित पुरस्कार जितेका थिए भने भिनिसियस दोस्रो स्थानमा थिए। रोड्रीले सिटीलाई लगातार चौथो पटक प्रिमियर लिग र स्पेनलाई युरो २०२४ को उपाधि जिताएका थिए। स्ट्राइकर भिनिसियसले रियललाई कीर्तिमानी १५औं पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए।
पेरिसमा भएको उक्त अवार्ड कार्यक्रमलाई भिनिसियस र रियलले बहिस्कार गरेपछि विवाद चुलिएको थियो। ‘मेरो विचारमा उनी गोल्डेन बल जित्न योग्य थिए। यो अन्यायपूर्ण थियो, म यहाँ सबैका अगाडि यो कुरा भन्छु,’ रियलका पूर्वस्ट्राइकर रोनाल्डोले ग्लोबल सकर अवार्डको समारोहमा भने।
पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले थपे, ‘उनीहरूले रोड्रीलाई दिए, उनी पनि यसको हकदार थिए। तर मलाई लाग्छ यो भिनिसियसलाई दिनुपर्थ्यो किनभने उनले च्याम्पियन्स लिग जितेका थिए।’ अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसीले मात्र रोनाल्डोभन्दा बढी बालोन डी’ओर जितेका छन्।