पाँचथर। चर्च ब्वाइज युनाइटेड क्लब पाँचथरको फिदिममा जारी ११औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेकाे छ।
फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ३–१ ले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा पुगेको हो।
४३औं मिनेटमा दिनेश शेर्माको गोलमार्फत आयोजक टोलीले सुरुआती अग्रता लिएको थियो। पहिलो हाफको अतिरिक्त समयमा समीर तामाङले चर्च ब्वाइज बराबरीमा फर्काए।
६२औं मिनेटमा विदेशी खेलाडी अर्मान बेडमले गोल गर्दै आफ्नो चर्च ब्वाइजलाई अग्रता दिलाए। ८४औं मिनेटमा अर्का विदेशी खेलाडी फोफोना अबियमीले गोल गर्दै चर्च ब्वाइजलाई फराकिलो जित दिलाए। खेलको उत्कृष्ट खेलाडी बनेर अबियमीले १० हजार प्राप्त गरे। प्रतियोगिताअन्तर्गत शनिबार न्यूरोड टिम (एनआरटी) र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ।