काठमाडौं। म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसलाई बिहीबार वुल्भ्सह्याम्प्टन वान्डरर्सविरुद्ध २–० को हारको समयमा रेड कार्ड दिइयो। बक्सिङ डेमा मोलिनिउमा लागेको बाक्लो कुहिरोले दृश्य अस्पष्ट बनाउँदै गर्दा फर्नान्डेसले दोस्रो हाफको दुई मिनेटपछि दोस्रो पहेँलो कार्ड पाएका कारण मैदानबाट बाहिरिनुपर्यो।
त्यसपछि मथेउस कुइन्हाले कुनाबाटै गोल गर्दै युनाइटेडको संकटलाई अझै गहिरो बनाएका थिए। यो युनाइटेडको पछिल्ला पाँच प्रिमियर लिग खेलमध्ये चौथो पराजय हो। यो क्षण गोलकिपर आन्द्रे ओनानाको लागि लज्जास्पद रह्यो, जसले क्लबको वर्तमान समस्यालाई पनि झल्काउँछ। १८ खेलमा २२ अंक जोडेको युनाइटेड प्रिमियर लिग तालिकाको १४औं स्थानमै अड्किएको छ।
प्रशिक्षक अमोरिमले भने ११ खेलाडी हुँदा पनि लिगमा खेल जित्न गाह्रो रहेको बताए। १० खेलाडी हुँदा त अझै गाह्रो महसुस भएको उनको भनाइ थियो। ‘हामीले यो कुरामा ध्यान केन्द्रित गर्नुपर्छ। त्यो रेड कार्डले हामीलाई निकै गाह्रो बनाइदियो,’ उनले भने।
वुल्भ्सले १० खेलाडी भएको युनाइटेडविरुद्ध थपिएको आठ मिनेटको कठिन समय पकड जमायो। अन्त्यतिर एक काउन्टर–एट्याकमार्फत ह्वाङ ही–चानले दोस्रो गोल गर्दै नयाँ प्रशिक्षक भीटर परेइराको पहिलो घरेलु खेललाई स्मरणीय बनाए।
यो जितले वुल्भ्सलाई तल्लो तीन स्थानबाट माथि उठाउँदै १७औं स्थानमा पुर्याएको छ। वुल्भ्ससँग १८ खेलबाट १५ अंक छ। युनाइटेडका प्रशिक्षक अमोरिमले एरिक टेन हागलाई प्रतिस्थापन गरेका थिए। तर, काम चुनौतीपूर्ण रहेको अमोरिमलाई पाठ पढाएको छ। अमोरिमको प्रशिक्षणमा युनाइटेडले सात खेल खेल्दा चार हार बेहोरेको छ।
त्यसको विपरित वुल्भ्सका प्रशिक्षक परेइरा प्रिमियर लिगमा पहिलो दुई खेल जित्ने पहिलो प्रशिक्षकको रेकर्ड बनाएका छन्। कुइन्हाले भने, ‘परेइरा धेरै उर्जाका साथ यहाँ आउनुभएको छ। उहाँले प्रिमियर लिग खेल्ने सपना देख्नुभएको थियो र हामीले यो ऊर्जा महसुस गर्न सक्छौं।’ कुइन्हाले अहिले १० लिग गोल गरेका छन्।