पाँचथर। न्युरोड टिम (एनआरटी) क्लब फिदिममा जारी ११औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताकाे सेमिफाइनल प्रवेश गरेको छ।
फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा बिहीबार भएकाे क्वार्टरफाइनलमा सल्हेश युवा क्लब सिरहालाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै न्युरोड अन्तिम चारमा पुगेकाे हाे।
निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलकाे छिनाेफानाे ट्राइब्रेकरमा गरिएको थियो। टाइब्रेकरमा एनआरटीका कृतिशरत्न छुर्ज, अभिषेक लिम्बू, कार्लोस, सरोज तामाङ र अञ्जन विष्टले गोल गरे। सल्हेशका कुलदीप कार्की, विवेक राई, दोर्जे तामाङ र फागुराम थारुले गोल गरे। तर, विदेशी खेलाडी हेनरीको प्रहार एनआरटीका गोलरक्षक प्रेमजय गच्छदारले बचाए।
म्यान अफ द म्याच एनआरटीका अभिषेक घोषित भए। उनले १० हजार रूपैयाँ प्राप्त गरे। याेसँगै सेमिफाइनलको समीकरण पूरा भएको छ। शुक्रबार पहिलो सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र चर्च बाेइज युनाइटेड भिड्ने छन्।
शनिबार एनआरटीले मछिन्द्र क्लबको सामना गर्ने छ। फाइनल खेल यही पुस १५ गते हुने छ।