काठमाडौं। २१औं चरणको दोस्रो खेलबाटै ललित स्मृति एन्फा यु–१८ युथ लिगको विजेताको छिनोफानो मंगलबार हुनसक्ने छ। यस्तो भिड्दै छन्, शीर्ष स्थानको विभागीय टोली नेपाल पुलिस क्लब र पछिल्लो समय लय गुमाइरहेको चर्च बोइज युनाइटेड।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मध्यान्न १२ बजे हुने खेलमा चर्च बोइजलाई पराजित गर्न सके पुलिस एक खेलअगाबै च्याम्पियन बन्ने छ।
तर, चर्च बोइजसँग पुलिस पराजित भए या बराबरीमा खेले भने न्युरोड टिम (एनआरटी)सँग हुने लिगको अन्तिम खेलले नै उपाधिको विजेताको टुंगो लाग्नेछ।
किनभने लिग अन्तिमतिर पुग्दा पुलिससँग एनआरटी र संकटाको अंक दूरी त्यति धेरै छैन। २० खेलबाट ४५ अंक जोडेको पुलिस शीर्ष स्थानमा छ। उसलाई समान खेल खेलेको एनआरटीले ४१ र संकटाले ३९ अंकसहित पछ्याइरहेका छन्।
पुलिसले चर्च बोइजसँग खेल्दै गर्दा एनआरटीले भने आफ्नो २१औं खेल सातदोबाटो युथ क्लबसँग खेल्ने छ। चर्च बोइजजस्तै सातदोबाटो क्लबले पनि पछिल्लो समय लय समात्न सकेको छैन। थ्री स्टार क्बललाई २–२ को बराबरीमा रोकेको सातदोबाटोले त्यसको दुई दिनपछि मात्रै संकटासँग ३–१ को हार खेप्न परेको थियो।
यता, एनआरटी भने जावलाखेल युथ क्लबमाथि ५–२ को पुनरागमन जित निकाल्दै आफूलाई उपाधि दौडमा कायम राखेको थियो। अझ सोमबार संकटाले लिगको पुछारबाट दोस्रो स्थानमा रहेको एफसी खुमलटारमाथि ७–० को फराकिलो जित निकाल्यो। योसँगै चर्च बोइजसँग पुलिस र सातदोबाटोसँग एनआरटी सकिए संकटाको पनि उपाधि दौड कायम रहने छ र त्रिपक्षीय भिडन्त देखिन पाइने छ।
तर, लिगलाई दुई भागमा छुट्टाएर हेर्न हो भने पुलिससँग चर्च बोइजको नतिजा निराशाजनक छ। पहिलो भागमा कप्तान सुवास बमको दुई गोलसँगै पुलिसले चर्च बोइजमाथि ३–१ को जित हात पारेको थियो। सुवासले सुरुआती पेनाल्टी चुकाए पनि दुई गोल गरे। यस्तै, अर्को एक गोल चिरण कार्कीले थपे।
चर्च बोइजका लागि अनुज थिङले पनि गोल फर्काएका थिए। तर, उक्त गोल पर्याप्त हुन सकेन। यता, एनआरटीसँग सातदोबाटोको नतिजा पनि उस्तै निराशाजनक छ। पछिल्लो भेटमा ईशान साहको दुई र राजन बूढाको एक गोलसँगै एनआरटीले ३–० को फराकिलो जित निकालेको थियो।
पुलिसले खराब नतिजा र एनआरटीले यही नतिजा दोहोर्याउन सके अझै एक चरण उपाधि जित्ने टिम को होला भनेर ससपेन्समा रहने छ।