काठमाडौं। स्पेनिस लिग क्लब सेभिया तथा स्पेनका भेट्रान खेलाडी जिसस नाभासले रियल मड्रिडविरुद्ध आइतबार आफ्नो अन्तिम खेल खेले।
सन् २०२४ को अन्त्यमा औपचारिक रूपमा सन्यास लिँदै गरेका डिफेन्डरलाई स्यान्टियागो बेर्नबेउ मैदानमा सेभिया र रियलका खेलाडी तथा समर्थकहरूले बिदाई गरेका थिए।
खेलअघि दुबै टोलीका खेलाडीहरूले नाभासको सम्मानमा गार्ड अफ अनर प्रदान गरे। नाभासले मैदान प्रवेश गर्दा दुबै टोलीका खेलाडी लाइनमा उभिए। रियलका अनुभवी मिडफिल्डर लुका मोड्रिचले उनलाई खेलाडीहरूद्वारा हस्ताक्षरित रियलको जर्सी प्रदान गरे। समर्थकहरूले पनि समारोहका क्रममा नाभासलाई ताली बजाएर सम्मान गरे।
३९ वर्षीय नाभास खेलको दोस्रो हाफको बीचतिर वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए। खेलपछि आँसु रोक्न नसकेका उनले भने, ‘आज जुन भयो, त्यो अद्भुत थियो। मैले आफ्नो जीवनमा प्रतिद्वन्द्वीको मैदानमा यस्तो कहिल्यै देखेको थिइनँ। यो पागलपन थियो। ती अन्तिम केही मिनेटमा मैले केही देखिरहेको थिइनँ। म भुईँमा हेरिरहेको थिएँ र सेभिया र राष्ट्रिय टोलीका लागि मैले दिएको खुशीका ती पलहरू सम्झिरहेको थिएँ।’
नाभासले सेभियालाई चार पटक युरोपा लिगको उपाधि जिताएका छन्। उनले स्पेनलाई २०१० को विश्वकप र २०१२ तथा २०२४ को युरो कप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनले म्यानचेस्टर सिटीमा रहँदा सन् २०१४ को प्रिमियर लिग जितेका थिए।
रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने, ‘नाभास यो सम्मान साच्चै पाउन लायक छन्। नाभास सबैका लागि एक उदाहरण हुन्।’