काठमाडौं। म्यानचेस्टर युनाइटेडबाट बाहिरिने चर्चा चलिरहेको अवस्थामा फरवार्ड मार्कस रासफोर्ड तेस्रो पटक लगातार टोलीबाट बाहिर रहन परेको छ। आइतबार बर्नमाउथविरुद्धको प्रिमियर लिग खेलमा पनि उनी अनुपस्थित रहे।
यसअघि उनले म्यानचेस्टर सिटीविरुद्ध २–१ को जित र लिग कपमा टोटनह्यामसँग ४–३ को हारमा समेत आफ्नो स्थान बनाउन सकेनन्। युनाइटेडका प्रशिक्षक रुबेन अमोरिमले रासफोर्डलाई टोलीमा नसमेट्नुको कारण छनोट भएको बताएका थिए।
मंगलबार पत्रकार हेन्प्री विन्टरसँगको अन्तर्वार्तामा रासफोर्डले युनाइटेड छोड्ने सम्भावनाबारे पहिलोपटक खुलेर प्रतिक्रिया दिएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त अन्तर्वार्तामा उनले भने,‘मेरो विचारमा म नयाँ चुनौती र अर्को चरणका लागि तयार छु। युनाइटेड छोड्दा कुनै मनमुटाव हुने छैन।’
२७ वर्षीय रासफोर्ड युनाइटेडको एकेडेमीका उत्पादित खेलाडी हुन्। हाल उनी क्लबसँग २०२८ सम्मका लागि सम्झौताबद्ध छन्। तर, सन् २०२३ मा नयाँ सम्झौतामा हस्ताक्षर गरेयता उनले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा आलोचनाको सामना गरिरहेका छन्। गत सिजन उनले मात्र आठ गोल गरेका थिए र इङ्ल्यान्डको राष्ट्रिय टोलीमा आफ्नो स्थानसमेत गुमाए।
नोभेम्बरमा अमोरिम नियुक्त भएपछि रासफोर्डले युनाइटेडका लागि ६ खेलमा तीन गोल गरेका छन्।