काठमाडौं। आइतबार सेभियालाई ४–२ ले हराएपछि रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले आत्मआलोचनाले चुनौतीपूर्ण समय पार गर्न र केलियन एमबाप्पेलाई टोलीमा घुलमिल हुन महत्त्वपूर्ण भूमिका खेलेको बताए।
२६ वर्षीय फ्रेन्च फरवार्ड एमबाप्पेले सुरुआती गोल गरेका थिए र अर्को गोलमा सहयोग गरे। यस जितसँगै रियलले ला लिगामा दोस्रो स्थान हासिल गर्दै शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडसँगको दूरी एक अंकमा झारेको छ।
फेडेरिको भाल्भर्डे, रोड्रिगो र ब्राहिम डियाजले पनि रियलका लागि गोल गरे। एमबाप्पेले पछिल्ला आठ खेलमा ६ गोल गर्दै टिमको जितमा अग्रसर भूमिका खेले। यो जितले रियललाई ४० अंकसहित बार्सिलोनाभन्दा दुई अंकले अघि बढाएको छ।
समर ट्रान्सफर विन्डोमा टोलीमा आएपछि एमबाप्पेले आफ्नो लय समात्न निकै संघर्ष गरेका थिए। प्रारम्भिक चरणमा खराब प्रदर्शन र चोटका कारण उनी केही समय बाहिर पनि बसेका थिए। रियल पनि सिजनको सुरुआतमा प्रतिद्वन्द्वीहरूसँग कदम मिलाउन असफल देखियो। अक्टोबरमा बार्सिलोनासँगको ४–० को हारले टोलीको मनोबल घटाएको थियो।
प्रशिक्षक एन्सेलोट्टीले टोलीको प्रदर्शनमा भएको कमीका लागि मानसिकता र सामूहिक प्रयासको अभाव जिम्मेवार ठहराएका थिए। तर, आत्मआलोचनाबाट टोलीले आफ्नो कमजोरीलाई सुधार गर्दै लय पक्रिएको बताए।
‘एसी मिलानसँगको हारपछि हामीले स्पष्ट कुराकानी गर्दै ड्रेसिङ रूममै समस्याको समाधान गर्यौं,’ एन्सेलोट्टीले भने, ‘आत्मआलोचनाले हाम्रो कमजोरीलाई सुधार गर्न र सामूहिक प्रतिबद्धता बढाउन प्रेरित गर्यो। एमबाप्पेले पनि आत्मआलोचना गरेर कठिन परिस्थितिलाई पार गरेका छन्।’
एन्सेलोट्टीले खेलअघि नै एमबाप्पेप्रति आफ्नो विश्वास रहेको बताएका थिए। सेभियाविरुद्धको प्रदर्शनले उनको दाबी सही साबित भयो। ‘उनको समायोजन अवधि समाप्त भएको छ र आज उनले देखाएका प्रदर्शनले पुष्टि गरेको छ कि कहिलेकाहीं म पनि ठीक हुन्छु,’ उनले हँस्दै थपे।
एन्सेलोट्टीले २०२४ लाई उत्कृष्ट वर्षको रूपमा स्मरण गर्दै भने, ‘यो वर्षलाई म ए प्लस दिन्छु। गत सिजन उत्कृष्ट थियो। यो सिजन गाह्रोसँग सुरु भए पनि सही समयमा समस्या समाधान गरियो। २०२५ का लागि धेरै आशा छ, तर त्यसलाई पुनः दोहोर्याउन गाह्रो हुनेछ। हामी प्रयास गर्नेछौं।’
हालको च्याम्पियन्स लिगमा भने रियल तीन जित र तीन हारका साथ २०औं स्थानमा रहेको छ। एन्सेलोट्टीले भविष्यमा प्रदर्शन सुधार गर्ने आशा व्यक्त गर्दै रियलले नयाँ वर्षमा मजबुत प्रदर्शन गर्ने बताए।