काठमाडौं। लुइस डियाज र मोहम्मद सालाहको प्रभावशाली प्रदर्शनसँगै लिभरपुलले आइतबार टोटनह्यामलाई ६–३ गोलले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा चार अंकको अग्रता बनाउन सफल भएको छ।
खेलको पहिलो हाफमा लिभरपुलले आफ्नो कौशल प्रदर्शन गर्यो। डियाजले ट्रेन्ट अलेक्जेन्डर-अर्नोल्डको सुन्दर क्रसमा डाइभिङ हेडरमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए। त्यसपछि एलेक्सिस म्याक एलिस्टरले अर्को गोल थप्दै लिभरपुललाई बलियो स्थितिमा पुर्याए।
तर, खेल मध्यान्तर हुने चार मिनेटअघि डेजन कुलुसेभ्स्कीको पासलाई सदुपयोग गर्दै जेम्स म्याडिसनले गोल गरे र टोटनह्यामलाई खेलमा फर्काउने आशा जगाए। लिभरपुलले पहिलो हाफको अतिरिक्त समयमा फेरि अर्को गोल थप्यो। डोमिनिक स्जोबोस्लाईको गोलसँगै लिभरपुलले पहिलो हाफ ३–१ मा समाप्त गर्यो।
दोस्रो हाफमा सालाहले सिजनको १४औं र १५औं लिग गोल गर्दै क्लबका दिग्गज बिली लिडेललाई पछाडि पार्दै लिभरपुलको सर्वकालिक गोलकर्ता सूचीमा चौथो स्थानमा स्थान बनाए। उनले टिमलाई ५–१ को अग्रता दिलाए। सालाहले यस उपलब्धिपछि भने, म खुसी र गौरवान्वित छु। म सधैं कडा मिहिनत गरिरहने छु।
डेजन कुलुसेभ्स्कीको पासमा डोमिनिक सोलान्केले ८३औं मिनेटमा टोटनह्यामका लागि गोल गर्दै असम्भव पुनरागमनको आशा देखाए। तर, त्यो लामो समय टिकेन। लुइस डियाजले दुई मिनेटपछि गोल गर्दै स्कोर ६–३ मा पुर्याए र खेलको नतिजा सुनिश्चित गरे।
जितसँगै लिभरपुल १६ खेलबाट ३९ अंकका साथ प्रिमियर लिगको शीर्ष स्थानमा छ। दोस्रो स्थानको चेल्सीलाई चार अंकले पछि पारेको लिभरपुलले शीर्ष स्थानमा पकड बलियो बनाएको छ। टोटनह्याम भने १७ खेलबाट २३ अंकसहित ११औं स्थानमा छ।