काठमाडौं। एसीसी यु–१९ महिला एसिया कपअन्तर्गत सुपर फोरको पहिलो खेलमा नेपालले श्रीलंकासँग अंक बाँडेको छ।
क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहीबार तय भएको खेल वर्षाको कारण रद्द भएसँगै नेपालले श्रीलंकासँग समान एक अंक बाँडेको हो। टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले एक ओभरमा एक विकेट गुमाउँदै एक रन मात्रै बनाएको थियो। सोही अवस्थामा वर्षा सुरु भएसँगै खेल रद्द गरिएको हो। नेपालकी कप्तान पूजा महतोले हिरुनी हंशिकालाई शून्य रनमा अलिसाकुमारी यादवबाट क्याच आउट गराएकी थिइन्।
नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा सुपर फोरमा पुगेका हुन्। समूह ‘ए’ बाट श्रीलंका दुवै खेल जित्दै समूह विजेताको रुपमा अगाडि बढेको हो। समूह चरणको पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै ऐतिहासिक जित निकाल्यो।
दोस्रो खेलमा भारतविरुद्ध वर्षाको कारण खेल नतिजाविहीन रह्यो, जसले दुवै टोलीलाई समान एक अंक दिलायो। नेपाल र भारत अपराजित रहँदै सुपर फोरमा स्थान बनाउन सफल भए। भारतले पहिलो खेलमा बंगलादेशलाई नौ विकेटले हराएको थियो। यता, श्रीलंकाले घरेलु टोली मलेसियालाई ९४ रनले हराउँदै सानदार सुरुआत गरेपनि त्यो लय कायम राख्न सकेन।
श्रीलंका दोस्रो खेलमा बंगलादेशसँग २८ रनले पराजित हुन पुगेको थियो। यद्यपि, समूह उपविजेताको रुपमा अघिल्लो चरणको यात्रा तय गर्यो। अब नेपालले सुपर फोरमा शुक्रबार बंगलादेशलाई चुनौती पेस गर्नेछ।