काठमाडौं। बायाँ हाते स्पिनर मिचेल सान्टनरलाई न्यूजिल्यान्डको सीमित ओभर टोली (एकदिवसीय र टी–२०आई)को कप्तान नियुक्त गरिएको छ। उनले औपचारिक रूपमा केन विलियम्सनको स्थान लिनेछन्, जसले २०२२ को टी–२० विश्वकपपछि कप्तानीबाट राजीनामा दिएका थिए।
सान्टनरले २४३ अन्तर्राष्ट्रिय खेलमा न्यूजिल्यान्डको प्रतिनिधित्व गरेका छन् र उनले अब एकदिवसीय र टी–२० आई टिमको स्थायी कप्तानको जिम्मेवारी सम्हाल्नेछन्। यसअघि उनले २४ टी–२० र चार एकदिवसीय खेलमा कप्तानी गरिसकेका छन्।
गत महिना श्रीलंका भ्रमणको क्रममा उनलाई न्यूजिल्यान्डको एकदिवसीय र टी–२०आई टोलीको कप्तान नियुक्त गरिएको थियो। तर, उक्त नियुक्ति केवल ती शृंखलासम्मको थियो। अब उनी आधिकारिक रूपमा न्यूजिल्यान्डको सीमित ओभर टोलीका कप्तान बनेका छन्।
३२ वर्षीय सान्टनरले डिसेम्बरको अन्त्य र जनवरीको शुरुमा श्रीलंकाविरुद्धको टी–२० र एकदिवसीय शृंखलाबाट आफ्नो पूर्णकालिक कप्तानीको सुरुआत गर्नेछन्। योसँगै न्यूजिल्यान्डको सेतो बल क्रिकेटको व्यस्ततालिको आरम्भ हुनेछ, जसमा फेब्रुअरीमा पाकिस्तानमा एकदिवसीय त्रिकोणीय शृंखला पनि समावेश छ। त्यसपछि आइसिसी च्याम्पियन्स ट्रफी र न्यूजिल्यान्डको घरेलु सिजनको अन्त्यमा पाकिस्तानविरुद्ध शृंखला पनि हुनेछन्।