काठमाडौं। मलेसियामा जारी एसीसी यु–१९ महिला एसिया कप क्रिकेटमा बिहीबारदेखि सुपर फोरका खेलहरू सुरु हुँदैछन्। नेपालले पहिलो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान ११:४५ बजे हुनेछ।
नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा सुपर फोरमा पुगेको छ। समूह ‘ए’ बाट श्रीलंका दुवै खेल जित्दै समूह विजेताको रुपमा अगाडि बढेको हो। समूह चरणको पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै ऐतिहासिक जित निकाल्यो।
दोस्रो खेलमा भारतविरुद्ध वर्षाको कारण खेल नतिजाविहीन रह्यो, जसले दुवै टोलीलाई समान एक अंक दिलायो। नेपाल र भारत अपराजित रहँदै सुपर फोरमा स्थान बनाउन सफल भए। भारतले पहिलो खेलमा बंगलादेशलाई नौ विकेटले हराएको थियो। यता, श्रीलंकाले घरेलु टोली मलेसियालाई ९४ रनले हराउँदै सानदार सुरुआत गरेपनि त्यो लय कायम राख्न सकेन।
श्रीलंका दोस्रो खेलमा बंगलादेशसँग २८ रनले पराजित हुन पुगेको थियो। यद्यपि, समूह उपविजेताको रुपमा अघिल्लो चरणको यात्रा तय गर्यो। पाकिस्तानजस्तो टेस्ट राष्ट्रलाई हराएको नेपालले श्रीलंकाविरुद्ध कस्तो नतिजा ल्याउनेछ भन्ने कुराले सबैको ध्यान तानिएको छ। सुपर फोरमा शुक्रबार बंगलादेशसँग हुने प्रतिस्पर्धा पनि समान रूपमा चाखलाग्दो हुने अपेक्षा छ।