काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार क्वालिफायर २ मा कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १२:३० बजे सुरु हुनेछ।
यस खेलको विजेताले शनिबार उपाधिका लागि सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ। जनकपुरले क्वालिफायर १ मा सुदूरपश्चिमसँग आठ विकेटको हार बेहोरेको थियो। तर, लिगचरणमा दोस्रो हुँदै क्वालिफायरमा स्थान बनाएको हुँदा फाइनल पुग्न अर्को अवसर प्राप्त गरेको हो।
त्यस्तै, कर्णाली नेट रनरेटको आधारमा काठमाडौं गुर्खाजलाई पछि पार्दै शीर्ष चारमा अटाउन सफल भएको थियो। कर्णाली याक्सले भने इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै क्वालिफायर २ मा स्थान बनाएको हो।
सोमपाल कामीको नेतृत्वमा रहेको कर्णालीलाई लिगचरणको आफ्नो पहिलो खेलमा जनकपुरले आठ विकेटले हराएको थियो। आजको रोमाञ्चक भिडन्तमा फाइनल पुग्ने दुवै टोलीको प्रयाससँगै समर्थकहरूको ध्यान कीर्तिपुरको मैदानमा केन्द्रित हुनेछ।