काठमाडौं। नेपाली यु–१९ टोलीले एक खेलअगाबै हङकङसँगको शृंखला जितेको छ।
बुधबार भएको खेलमा हङकङमाथि २२६ रनको फराकिलो जित निकाल्दै नेपालले शृंखला घरमै राखेको हो। नेपालले यसअघि तीन विकेटको जित निकालेको थियो। अब नेपालले अन्तिम खेल शुक्रबार खेल्नेछ।
नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको हङकङले २९.४ ओभरमा सबै विकेट गुमाउँदै ७१ रन मात्रै बनाउन सक्यो।
हङकङका कप्तान सिव माथुरले सर्वाधिक १६ रन बनाए। २८ बल खेलेका उनले दुई चौका प्रहार गरे। आरेज दार १४ र प्रित मन्गुकिया १४ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नेपालका दयानन्द मण्डलले सर्वाधिक चार विकेट लिए। ६ ओभर बलिङ गरेका उनले दुई मेडनसहित १७ रन खर्चिए। अपराजित पौडेल र सिब्रन श्रेष्ठको नाममा समान दुई विकेट रह्यो। यस्तै, सन्तोष यादव र नरेन भट्टले पनि एक विकेट आफ्नो पोल्टामा पारे।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले सोहिल कुँवर र सन्तोष यादवको अर्धशतकसँगै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९७ रन बनाएको थियो।
ओपनर सोहिलले सर्वाधिक ८१ रन बनाए। १०९ बल खेलेका उनले ९ चौका र एक छक्का प्रहार गरे। सन्तोष ६६ रनमा अविजित रहँदा दिलाश अलि ४१, अभिषेक तिवारी २६ र अपराजितले ११ रन बनाए।