काठमाडौं। आरिफ शेखको सानदार ब्याटिङसँगै सुदूरपश्चिम रोल्यसले नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५३ रन बनाएको हो। सुदूरले सुरुआती राम्रो गर्न सकेन।
ओपनर सैफ जैबलाई रेमन रेइफरले नौ रनमै बोल्ड गरे। अर्का ओपनर विनोद भण्डारी पनि क्रिजमा लामो समय टिक्न सकेनन्। १६ बलमा एक चौका र छक्कासहित १४ रन बनाए। त्यसपछि पनि सुदूरको विकेट झर्नेक्रम जारी रह्यो। ब्रान्डन म्याकमुलन २३, हर्मित सिंह १३ रनमा आउट भए। तर, पाँचौं विकेटका लागि कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफले ४१ रनको साझेदारी गर्दै सुदूरलाई १४.६ ओभरमा ५–१११ को स्थितिमा पुर्याए।
१६ बलमा दीपेन्द्रले एक चौकासहित २० रन बनाए। ईशान पाण्डे १० रनमा रिटायर्ड आउट हुँदा आरिफ ४२ र नरेश बूढाऐर ६ रनमा अविजित रहे। आरिफले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गरे।
पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले २७ रन खर्चिए। रेमन, सागर ढकाल र माइकल लिस्कले समान एक विकेट लिए।