काठमाडौं। जनकपुर बोल्ड्सलाई पराजित गर्दै चितवन राइनोज नेपाल प्रिमियर लिगको प्लेअफनजिक पुगेको छ। शनिबार भएको खेलमा चितवनले ३२ रनको जित हासिल गरेको हो।
चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुरले १८ ओभरमा सबै विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो। ६ खेलबाट १० अंक जोडेको जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ।
चितवनमाथि जित निकालेको भए जनकपुरको शीर्ष दुई स्थान पक्का हुने थियो। योसँगै जनकपुरले पहिलो क्वालिफायर खेल्ने थियो। तर, अब दुई खेल कम खेल्दै आठ अंक जोडेको सुदूरपश्चिम रोयल्स र समान अंक भएको कर्णाली याक्सको नतिजा जनकपुरले कुर्नुपर्ने भएको छ।
चितवनको जितसँगै छैटौं स्थानको विराटनगर किङ्स र सातौं स्थानको पोखरा एभेन्जर्स लिगचरणको अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिएका छन्। चितवनले सात खेलबाट आठ अंक पुर्याएको छ। एक खेल कम खेलेको काठमाडौंको ६ तथा विराटनगर र पोखराको समान चार अंक छ। अब प्लेअफमा सुदूरपश्चिम, कर्णाली, चितवन र काठमाडौंमध्ये तीन टोली पुग्नेछन्।
जनकपुरका जिम्मी निसमले सर्वाधिक ६५ रन बनाएका थिए। आक्रामक ब्याटिङ गरेका उनले २४ बलमा पाँच चौका र ६ छक्का प्रहार गरे। उनको १८ बलमै अर्धशतक पूरा गरेका थिए। तर, अन्य ब्याटर चल्न नसक्दा जनकपुरले लिगमा दोस्रो हार बेहोर्न पर्यो। यसअघि सुदूरपश्चिमसँग जनकपुर ७२ रनले पराजित भएको थियो।
जनकपुरका ओपनर आसिफ शेख २३, शुभ कंसाकार १५, मोहम्मद मोहसिन १३ रनमा आउट हुँदा किशोर महतो चार रनमा अविजित रहे। चितवनका रिजन ढकाल, सोहेल तनवीर र कुशल मल्लले समान दुई विकेट लिए। अमर रौटेलाको नाममा एक विकेट रह्यो।