मेसीका जेठा छोरा थियागोले गरे ‘नेवेल्स कप’ मा डेब्यु

काठमाडौं। अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेसीका जेठा छोरा थियागो मेसीले रोसारियोमा आयोजना भएको ‘नेवेल्स कप’ डेब्यु गरेका छन्।
१२ वर्षे थियागोले इन्टर मियामीको युवा टोलीबाट १० नम्बर जर्सीमा पहिलो पटक खेल्ने अवसर पाएका हुन्। ओल्ड ब्वाइजसँगको खेलमा उनी दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए। तर, उनको टोली १–० ले पराजित भयो। मेसीले पनि अर्जेन्टिनाको रोसारियोस्थित नेवेल्स क्लबबाट आफ्नो फुटबल करियरको सुरु गरेका थिए।
थियागोको खेल हेर्न उनका आमा एन्टोनेला रोक्कुजो र अन्य परिवारका सदस्य उपस्थित थिए। तर, मेसीले उपस्थिति जनाएनन्। दोस्रो हाफमा आएका थियागोले उरुग्वेका स्ट्राइकर लुइस सुआरेजका छोरा बेन्जामिन सुआरेजसँग जुगलबन्धि गरेका थिए।
इन्टर मियामी एमएलएस प्लेअफबाट बाहिरिएपछि मेसी र सुआरेज अहिले रोसारियोमा छन्। यसैबीच, आइतबार इन्टर मियामीको यु–१३ टोलीले युनिओनसँग मैत्रीपूर्ण खेल खेलेको थियो। यो युथ प्रतियोगितामा उत्तर र दक्षिण अमेरिकाका आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।













-1763904378702.png&w=3840&q=75)