काठमाडौं। म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा फेयनोर्डविरुद्ध तीन गोलको अग्रता लिएर पनि ३–३ को नाटकीय बराबरीमा चित्त बुझाउनु परेको छ। इतिहाद रंगशालामा घरेलु समर्थकहरूले खेलको अन्त्यतिर निराशा व्यक्त गर्दै आफ्नै टोलीको आलोचना गरेका थिए।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले समर्थकहरूको निराशालाई उचित ठहर गरेका छन्। उनले भने, ‘समर्थकहरूले आफूले महसुस गरेको कुरा व्यक्त गरेका हुन्। यो एकहदसम्म सही छन्। पछिल्ला केही खेल गुमाएका छौं र हामीलाई जितको खाँचो छ।’
सिटीले ५० मिनेटभित्र तीन गोल गर्दै स्पष्ट अग्रता लिएको थियो। एर्लिङ हालान्डले दुई गोल गरेका थिए भने इल्के गुन्डोगानको अर्को गोलले टोलीलाई मजबुत बनाएको थियो। तर, खेलको अन्तिम १५ मिनेटमा फेयनोर्डले असम्भव पुनरागमन गर्यो। एनिस हाज मौसाले ७५, सान्टियागो गिमेनेजले ८२ र डेभिड ह्यान्कोले ८९औं मिनेटमा गोल गर्दै सिटीलाई स्तब्ध बनाए।
ओप्टाका तथ्यांक अनुसार ग्वार्डिओलाको प्रशिक्षण क्यारियरमा ३–० को अग्रता लिएर पनि जित्न असफल भएको पहिलो पटक हो। यस बराबरीसँगै सिटीले च्याम्पियन्स लिगको अंक तालिकामा पाँचौं स्थानमा पुग्ने मौका गुमाएको छ। सिटी १५औं झरेको छ।
प्रिमियर लिगमा लिभरपुलसँग खेल्ने तयारीमा रहेका सिटीका खेलाडीहरू यस हारपछि मैदानबाट निराश मुद्रामा बाहिरिएका थिए। डिफेन्डर नाथन अकेले भने, ‘३-० को अग्रता हुँदा पनि खेल बराबरीमा जानु हुँदैन थियो। हामीले अब बलियो भएर अघि बढ्नुपर्छ।’
सिटीले अब आइतबार प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलविरुद्ध खेल्ने तयारी गर्दैछ। ग्वार्डिओलाले भने, ‘यो सिजन हाम्रो लागि निकै कठिन छ, तर हामीले यसबाट पाठ सिक्नुपर्छ।’