फिकल। दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप आगामी माघ ५ गतेबाट हुने भएको छ।
क्लब ओएसीसको आयोजनामा माघ १२ गतेसम्म इलामको ठूलो टुँडिखेलमा प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा ३ विभागीय टिमसहित ८ क्लबको सहभागिता रहनेछ। क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिता बारे जानकारी गराएको छ।
प्रतियोगितामा विभागीय टिम एपिएफ, त्रिभुवन आर्मी सहित आयोजक क्लब ओएसीस, गढीमाई एफसी धनगढी, बागमती फुटबल क्लब सर्लाही, भारतको मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ र सी एफसी सहभागी हुनेछन्।
विजेताले ४ लाख र उपविजेताले २ लाख रूपैयाँ प्राप्त गर्नेछ। आयोजकले राष्ट्रिय टिमकी कप्तान एवं गोलरक्षक अञ्जिला तुम्वापो सुब्बाको कप्तानीमा टिम उतार्ने तयारी रहेको जनाएको छ। महिला फुटबलको उचाईलाई जीवन्त राख्दै नयाँ खेलाडी उत्पादनको लक्ष्य सहित प्रतियोगिता आयोजना गरिएको जनाइएको छ।
क्लबका अध्यक्ष ध्रुव राईले जिल्लाको गरिमा भएकाले सबैको सहयोगको अपेक्षा रहेको बताए। उनले पुरुषको तुलनामा महिला फुटबल प्रतियोगिता अत्यन्तै कम हुने भएको कारण पनि इलाममा नेपाली राष्ट्रिय टिमका खेलाडी उतार्न लागिएको बताए। अञ्जिला खेलका लागि विदेशमा नगएको खण्डमा उनी कप्तान हुने बताइएको छ।
प्रतियोगिता सम्पन्न गराउनका लागि ५१ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान रहेको सचिव रोशन राईले जानकारी दिए । कोशी प्रदेश फुटबल संघका महासचिव पूर्ण फत्रले पछिल्लो समय महिला फुटबल आयोजना हुन थालेकाले खेलाडी उत्पादन बढेको बताए। उनले महिला फुटबलमा स्थानीय सरकारलाई लगानी गर्नुपर्छ भन्ने अनुभूत गराउनुपर्ने बताए।
यसअघि गत संस्करणमा दीपेन्द्र शिखर फुटबल क्लबलाई हराउँदै मानेभञ्ज्याङ एफसी दार्जिलिङले उपाधि जितेको थियो। इलाममा ११ वर्षपछि विभागीय टिम सहितको महिला फुटबल हुन लागेको हो। यसअघि २०७० पुस २८ बाट माघ ७ गतेसम्म प्रथम लुम्बिनी राष्ट्रिय महिला फुटबल लीग भएको थियो।