काठमाडौं। रोमेलु लुकाकुले आइतबार आफ्नो पूर्वक्लब रोमाविरुद्ध गोल गर्दै नेपोलीलाई १–० को जित दिलाए। यो जितसँगै नेपोलीले सिरी ‘ए’ को शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखेको छ।
नेपोलीले २९ अंकका साथ एटलान्टा, इन्टर मिलान, फियोरेन्टिना, र लाजियोभन्दा एक अंकको अग्रता बनाएको छ। अन्य खेलमा फियोरेन्टिनाले कोमोमाथि २–० को जित हात पारेको छ भने लाजियोले १० खेलाडीमा सीमित बोलोग्नालाई ३–० ले हराएको छ।
नेपोलीका कप्तान जियोभान्नी डि लोरेन्जोको क्रसलाई दोस्रो हाफको सुरुमै लुकाकुले स्टेडियो डिएगो अर्मान्डो म्याराडोनामा गोलमा परिणत गरे।
रोमाले बराबरी गर्ने केही अवसर पाए पनि आर्टेम डोभविकको हेडर क्रसबारमाथिबाट बाहिरियो।
लुकाकुले गत सिजन रोमाका लागि खेलेका थिए। तर, नेपोलीले एन्टोनियो कोन्टेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेसँगै लुकाकु नेपोली बसाइँ सरेका हुन्। रोमाले हालै आफ्नो तेस्रो प्रशिक्षकको रूपमा क्लाउडियो रानिएरीलाई नियुक्त गरेको छ। रानिएरीले बर्खास्त इवान जुरिकको स्थान लिएका हुन्, जसले यसअघि डेनियल डी रोसीलाई प्रतिस्थापन गरेका थिए। हाल रोमा रेलिगेसन जोनभन्दा चार अंकले माथि रहँदै १२औं स्थानमा छ।
यो जितले नेपोलीको सिरी ‘ए’ मा शीर्षस्थान बलियो बनाएको छ भने रोमाले नयाँ प्रशिक्षकको नेतृत्वमा स्थिरता र सुधारको खोजी गरिरहेको छ।