काठमाडौं। इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा रुबेन अमोरिमको नेतृत्वमा रहेको म्यानचेस्टर युनाइटेडले इप्सविच टाउनसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ।
अमाद डायलोको उत्कृष्ट क्रसमा मार्कस रासफोर्डले ८० सेकेन्डमै गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए। तर, मध्यान्तरअघि नै ओमारी हचिन्सनले बराबरी गोल फर्काएपछि खेल बराबरीमा टुंगियो।
युनाइटेडले लिगको कमजोर टोलीमध्ये एक मानिएको इप्सविचविरुद्ध अग्रता जोगाउन नसक्नुले टोलीको कमजोर सुरुआतलाई निरन्तरता दिएको छ।
रुबेनको नयाँ यात्रा
पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बन छोडेर अमोरिमलेले युनाइटेडको ‘टचलाइन’ सम्हाल्दै डेब्यु गरेका हुन्। उनले खेलको सुरुआतमा नै आफ्नो मनपर्ने ३–४–३ फर्मेसन लागू गरेका थिए, जसमा केही नयाँ प्रयोग देखियो। विंगर अमाद डायलोलाई विंग ब्याकको भूमिकामा तैनाथ गरिएको थियो, जसले सुरुआती गोलमा महत्त्वपूर्ण भूमिका खेले।
खेलपछि अमोरिमले प्रिमियर लिग कठिन रहेको प्रतिकृया दिए। ‘यो लिग वास्तवमै कठिन छ। यहाँको विपक्षीको तीव्रता र रंगशालाको वातावरणले चुनौती थप्छ। तर, मलाई लाग्छ हामीले राम्रो सुरुआत गरेका छौं,’ उनले भने।
रासफोर्डले खेलमा महत्त्वपूर्ण गोल गरे पनि पछिल्ला दुई सिजनदेखि उनको लय कमजोर हुँदै आएको छ। विंगरका रूपमा सामान्यतः खेल्ने रासफोर्ड पछिल्लो समय खराब प्रदर्शनका कारण इङ्ल्यान्ड राष्ट्रिय टोलीबाट बाहिरिएका छन्। यसपटक भने उनले रासमस होजलुन्ड र जोशुआ जिर्क्जीलाई पछि पार्दै गोल गरेका थिए।
युनाइटेडको चुनौती
युनाइटेडले सिजनको कमजोर सुरुआतपछि एरिक टेन हागलाई मुख्य प्रशिक्षकबाट हटाएको थियो। नयाँ प्रशिक्षक अमोरिमले भने आफ्नो टोलीलाई नयाँ योजनामा ढाल्ने प्रयास गरिरहेका छन्।
उनले भने, ‘खेलाडीहरूले दुई दिनभित्र फरक-फरक पोजिसनमा खेल्न सिक्नुपर्यो। उनीहरूले राम्रो प्रयास गरे र म यसलाई सकारात्मक रूपमा लिन्छु। तर, यो प्रक्रिया लागू गर्न समय लाग्छ।’
अमोरिमले थपे, ‘हामी उपाधिको लक्ष्यमा ध्यान केन्द्रित नगरी साना विवरणमा काम गरिरहेका छौं। एक बलियो टोली निर्माण गर्दै भविष्यमा उपाधि जित्ने वातावरण तयार गर्नेछौं।’ युनाइटेडको प्रदर्शन सुधार गर्न समय लाग्ने देखिए पनि अमोरिमको नयाँ दृष्टिकोणले भविष्यप्रतिको आशा भने जीवित राखेको छ।