काठमाडौं। लेगानेसमाथि ३–० को प्रभावशाली जित निकाल्दै डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस लिगको अंक तालिकामा शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ।
शनिबार राति सेल्टा भिगोविरुद्ध २–२ गोलको बराबरी खेलेको बार्सिलोनासँग रियलले अब चार अंक मात्रको दूरी कायम गरेको छ। खेलमा रियलका केलियन एमबाप्पे, फेडेरिको भाल्भर्डे, र जुड बेलिङ्घमले गोल गरे। विनाशकारी बाढीका कारण भ्यालेन्सियासँगको खेल स्थगित भएसँगै रियलले बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ।
बार्सिलोनाले १४ खेलबाट ३४ अंक जोडेको छ भने रियलले १३ खेलबाट ३० अंकमा पुगेको छ। तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिड रियलभन्दा एक अंकले पछाडि छ।
रियलले च्याम्पियन्स लिगमा बुधबार प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलसँग प्रतिस्पर्धा गर्न इङ्ल्यान्डको यात्रा गर्नेछ। अघिल्लो चरणमा एसी मिलानसँग ३–१ को हार बेहोरेको रियलले लेगानेसविरुद्धको जितमार्फत लयमा फर्किने संकेत दिएको छ।
खेलको ४३औं मिनेटमा भिनिसियस जुनियरको क्रसलाई एमबाप्पेले गोलमा परिणत गर्दै रियलको खाता खोले। फ्रान्सेली स्ट्राइकरले चार खेलपछि रियलका लागि गोल गर्न सफल भएका हुन्। त्यसपछि ६६औं मिनेटमा अर्दा गुलरको पासमा भाल्भर्डेले दोस्रो गोल थपे। खेल सकिन पाँच मिनेट बाँकी रहँदा बेलिङ्घमले अर्को गोल गर्दै रियललाई सहज जित दिलाए।
खेलपछि मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले उत्कृष्ट प्रदर्शन गर्दै टोलीले खेलमा पूर्ण नियन्त्रण लिन सफल भएको बताए। ‘हामीले आफ्नो पोजिसनमा परिवर्तन गर्दै खेलमा नियन्त्रण राख्न सफल भयौं,’ उनले भने।
यता, एमबाप्पेले आफू जुनसुकै पोजिसनमा पनि शतप्रतिशत योगदान दिने बताएका छन्। ‘मैले पहिलो दिनमै भनेको थिएँ कि म विभिन्न पोजिसनमा खेल्न सक्छु। म केवल राम्रो प्रदर्शन गर्दै र गोल गर्न चाहन्छु,’ उनले भने।