काठमाडौं। शनिबारको साँझ म्यानचेस्टर सिटीका लागि उत्सव र निराशा दुवैको मिश्रण बन्यो। मिडफिल्डर रोड्रिले विश्वकै उत्कृष्ट फुटबल खेलाडीको रूपमा बालोन डी’ओर अवार्ड जितेका थिए, जुन क्लबका लागि गर्वको विषय बन्यो। त्यस्तै, मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो सम्झौता थप्दै दुई वर्षका लागि सिटीसँग रहिरहने पक्का गरे।
तर, यी उत्साहजनक घटना पनि सिटीको मैदानमा भएको निराशाजनक प्रदर्शनले ओझेलमा परे। खेलको सुरुमै कमजोर ठानिएको टोटनह्यामले इत्तिहाद स्टेडियममा घरेलु टोलीलाई स्तब्ध बनाउँदै ४–० को सनसनीपूर्ण जित निकाल्यो। यस पराजयसँगै सिटीले सबै खाले प्रतियोगितामा लगातार पाँचौं हार बेहोरेको छ, जुन हालसम्मको खराब प्रदर्शन हो।
ग्वार्डिओलाको टोली अहिले प्रिमियर लिग लिडर लिभरपुलभन्दा पाँच अंकले पछि परेको छ। शनिबार रातिको हारले उपाधि दौडमा सिटीको चुनौतीलाई थप कमजोर बनाएको छ। तर, ग्वार्डिओला भने गहिरिँदै गएको संकटलाई सुधार्ने प्रतिबद्धता जनाउँछन्। उनी भन्छन्, ‘लगातार तीन खेल हारेपछि पनि हामी च्याम्पियन बन्छौं भन्नु अहिले असम्भवजस्तै छ। तर, हामी उपाधि दौडमा फर्किन र जितविहीन अवस्थालाई तोड्न हरसम्भव प्रयास गर्नेछौं।’
खेलको २० मिनेटभित्र टोटेनह्यामका जेम्स म्याडिसनले दुई गोल गर्दै घरेलु दर्शकलाई चकित पारे। पेड्रो पोरोले तेस्रो गोल थपे भने वैकल्पिक खेलाडी ब्रेनन जोनसनले इन्जुरी समयमा चौथो गोल गर्दै सिटीको घाउलाई गहिरो बनाए।
लिभरपुलले आइतबार अन्तिम स्थानको साउथह्याम्पटनविरुद्ध खेल्नेछ, जसले उपाधि दौडमा आफ्नो पकड बलियो बनाउने छ। योसँगै सिटीको चुनौतीलाई थप कठिन बनाउनेछ। अर्को साता एनफिल्डमा लिभरपुलसँगको खेलले सिटीलाई आफ्नो दहिनिय अवस्था सुधार्ने मौका दिनसक्छ।
शनिबारको अन्य खेलमा चेल्सी, आर्सनल, र ब्राइटनले जित निकालेका छन्, जसले उनीहरूलाई सिटीसँग नजिकैको प्रतिस्पर्धी बनाएको छ। यद्यपि, ग्वार्डिओला भने लिग अझै बाँकी रहेको र अन्तिम खेलसम्म सबै कुरा खुला रहेको बताउँछन्।
‘हाम्रो खराब लय चलिरहेको छ, तर खेल बाँकी छ। यदि अन्त्यसम्म हामीले चुनौती दिन सकेनौं भने मात्र उपाधिको हकदार थिएनौं भन्नेर मान्न सकिन्छ,’ उनको भनाइ छ।