काठमाडौं। साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा टोटनह्याममसँग स्तब्ध भएको छ।
इत्तिहादमा शनिबार राति भएको खेलमा घरेलु टोली सिटी टोटनह्याममसँग ४–० ले पराजित भएको हो। हारपछि सिटीलाई अंक तालिकामा धक्का लागेको छ।
१२ खेलबाट सिटीको २३ अंक छ। शीर्ष स्थानको लिभरपुल सिटीभन्दा पाँच अंकले अगाडी छ। टोटनह्यामम भने १९ अंकसहित छैटौं स्थानमा उक्लियो।
जेम्स म्याडिसनले सात मिनेटको अन्तरालमा दुई गोल गर्दै टोटनह्याम्याम कमजोर नरहेको सन्देश दिएका थिए। उनले १३ र २०औं मिनेटमा गोल गरेका हुन्। ५२औं मिनेटमा पेड्रो पोरोले गोल गर्दै सिटीबाट अग्रता लम्बाए। इन्जुरी समयमा ब्रेनान जोन्सनले अर्को गोल थपेपछि सिटी स्तब्ध हुन पुगेको हो।
अक्टोबर २६ मा साउथह्याम्पटनलाई १–० ले हराएयता पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटी इतिहासकै सबैभन्दा खराब लयमा देखिएको छ। यसअघि टोली लगातार चार खेलमा पराजित भइसकेको छ। यो सिटीको लगातार पाँचौं हार हो।