काठमाडौं। सेल्टा भिगोले स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनालाई २–२ गोलको बराबरीमा रोकेको छ।
राफिन्हा र रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले जित निकाल्न केही मिनेट मात्र बाँकी थियो। तर, ८१औं मिनेटमा बार्सिलोनाका डिफेन्सिभ मिडफिल्डर मार्क कासाडो दोस्रो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि खेल नाटकीय रूपमा परिवर्तन भयो।
त्यसको तीन मिनेटपछि जुल्स कोउन्डेले गोलकिपरलाई ब्याक पास दिन ढिला गर्दा अल्फोन गोन्जालेजले बल खोस्दै गोल गरे। यो सँगै सेल्टा २–१ को स्थितिमा फर्किएको थियो।
बालाइडोस स्टेडियममा भएको खेलमा ह्युगो अल्भारेजले ८६औं मिनेटमा बराबरी गोल फर्काए। आफ्नो टोलीले पासिङ खेललाई स्थापित गर्न नसकेको र २–० ले अगाडि रहँदा पनि गल्ती गरिरहेकोले बराबरी खेल्न परेको बार्सिलोनाका प्रशिक्षक ह्यान्सी फ्लिकले बताए।
‘अन्तिम १० मिनेट मात्र होइन, पूरै खेल निकै खराब खेल्यौं। पासिङ खराब थियो। हामीले धेरै गल्ती गर्यौं,’ उनले भने। लमिन यमल दाहिने खुट्टाको चोटका कारण अनुपस्थित भएपछि बार्सिलोना लगातार दोस्रो खेलमा जितविहीन भएको हो। यमलबिना नै रियल सोसिडाडसँग बार्सिलोना १–० ले पराजित भएको थियो।
दुई खेल कम खेलेको बार्सिलोना तेस्रो स्थानको रियल मड्रिडभन्दा सात अंकले अगाडि छ। खेलको १५औं मिनेटमा कोउन्डेको लामो पासमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए।
६१औं मिनेटमा राफिन्हाको पासमा लेवान्डोस्कीको अग्रता दोब्बर पारे। लेवान्डोस्कीले लिगका १४ खेलमा १५ गोल गरेका छन् भने राफिन्हाले लिगमा आठ गोल पुर्याएका छन्।