काठमाडौं। म्यानचेस्टर युनाइटेडका नयाँ मुख्य प्रशिक्षक रुबेन अमोरिमले क्लबको लागि आफू ‘सही व्यक्ति’ भएको तर आफ्नो विचार लागू गर्न समय लाग्ने बताएका छन्।
३९ वर्षीय उनले युनाइटेडसँग साढे दुई वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन्। उनले गत अक्टोबरमा बर्खास्त गरिएका एरिक टेन हागको स्थान लिएका हुन्। युनाइटेड अहिले प्रिमियर लिगमा अहिले १३ औं स्थानमा छ र उसले अन्तिमबाट चौथोमा रहेको इप्स्वीच टाउनविरुद्ध आइतबार खेल्दै छ।
अमोरिमले ओल्ड ट्रफोर्डमा बेहोर्ने चुनौती स्विकार्दै उनले क्लबको भाग्य परिवर्तन गर्नसक्नेमा विश्वास व्यक्त गरेका छन्। ‘म सपना देख्ने मान्छे हो, मलाई आफैप्रति विश्वास छ र क्लबप्रति मलाई विश्वास छ,’ उनले भने, ‘मेरो विचारमा हामीसँग एउटै विचार छ। उही मानसिकता पनि छ, जसले सहयोग गर्दछ।’
उनले थपे, ‘म वास्तवमै खेलाडीप्रति विश्वास गर्छु। मलाई थाह छ कि तपाईँ धेरै विश्वास गर्नुहुन्न। तर, म गर्छु। म नयाँ कुरा प्रयोग गर्न चाहन्छु। तपाईँहरू यो सम्भव छ भन्ने सोच्नुहुन्न। तर, म सोच्छु। मलाई बच्चा नै भन्नू। तर, मलाई विश्वास छ म नै सही समयको सही व्यक्ति हो। वास्तवमै मलाई विश्वास छ कि म सही व्यक्ति हो।’
यी पोर्चुगिच प्रशिक्षक अमोरिम स्पोर्टिङ चार वर्ष रहेपछि युनाइटेड आएका हुन्। उनलाई फेरि पनि युनाइटेडलाई प्रिमियर लिगको उपाधि होडमा फर्काउने चुनौती छ। उनले भने, ‘मलाई म्यानचेस्टर युनाइटेड थाह छ कि हामीले खेल जित्नै पर्छ। हामीलाई धेरै समय चाहिन्छ किनभने यो कठिन लिग हो। हामीले उपाधि जित्ने प्रयास गर्नको लागि धेरै सुधार गर्नुपर्छ।’
‘हामीले टिमको शारीरिक दृष्टिकोण परिवर्तन गर्नुपर्छ। यसको लागि कति समय लाग्छ मलाई थाह छैन,’ खुबै चर्चामा रहेका अमोरिमले भने। उनलाई पोर्चुगलकै जोसे माउरिन्होसँग तुलना गरिएको छ, जसले प्रिमियर लिगमा युनाइटेड, चेल्सी र टोटेनहम सम्हालेका थिए।
अहिले टर्किस क्लब फेनेरबाचेमा रहेका माउरिन्होले सन् २०१६ देखि ओल्ड ट्रफोर्डमा साढे दुई वर्ष बिताउँदा लिग कप र युरोपा लिगको उपाधि जितेका थिए। अमोरिम माउरिन्होसँग तुलना गर्नबाट टाढै रहन चाहन्छन्।
‘म माउरिन्होभन्दा अलग हो, त्यो समयको सम्झना छ,’ अमोरिम सन् २००४ मा च्याम्पियन्स लिगको उपाधि जितेपछि माउरिन्हो पोर्टोबाट चेल्सी पुगेको सन्दर्भमा बोले, ’तपाईँ माउरिन्होलाई हेर्नुहुन्छ र उहाँले जहाँ गए पनि जितेकै छन्। यो सबै एउटै होइन। उहाँ युरोपियन च्याम्पियन थियो, म होइन।’
उनले फेरि आफै सही व्यक्ति भएको जिकिर गरे, ‘अहिलेको फुटबल फरक छ। यो क्षणमा म नै सही व्यक्ति हो भन्ने लाग्छ। म युवा छु र म यसलाई खेलाडीलाई सहयोग गर्न प्रयोग गर्नेछु। युवाको रूपमा (फ्रयांक) लाम्पार्ड र अरु पनि थिए। अहिले धेरै कुरा भिन्न भइसकेको छ। मेरो विचारमा अहिलेको लागि म सही हो।’