काठमाडौं। पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटीसँग थप दुई वर्ष सम्झौता लम्बाएका छन्।
ग्वार्डिओलाले आफ्नो भविष्यबारे अनिश्चितताको अन्त्य गर्दै सम्झौता बढाउन सहमत भएका हुन्। योसँगै उनको कार्यकाल ११ सिजनसम्म लम्बिएको छ।
क्याटलोनियाका ५३ वर्षीय प्रशिक्षकले भने, ‘हामीले थप ट्रफी थप्न सक्छौं। मेरो ध्यान त्यसैमा केन्द्रित हुनेछ।’ ग्वार्डिओलाले सन् २०१६ मा सिटीमा आबद्ध भएदेखि नै अभूतपूर्व प्रभुत्व कायम गरेका छन्। उनले इतिहाद स्टेडियममा सात वर्षमा ६ प्रिमियर लिग उपाधि जितेका छन् भने च्याम्पियन्स लिग पनि जितेका छन्। सबै मिलाएर उनले क्लबलाई १५ उपाधि जिताएका छन्।
उनले नयाँ बेन्चमार्क सेट गरेका छन्, सिटी लगातार चार पटक इङ्लिस लिग उपाधि जित्ने पहिलो टोली बनेको छ। सन् २०१८ मा एकै सिजनमा १०० अंक बटुल्ने पहिलो टोली पनि बनेको थियो। उनले सिटीलाई सन् २०२३ मा ‘ट्रबल’मा पुर्याएका थिए र एक सिजनमा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप जितेका थिए।
‘म्यानचेस्टर सिटी मेरो लागि निकै महत्त्वपूर्ण छ। यो मेरो नवौं सिजन हो। हामीले एकसाथ धेरै आश्चर्यजनक अनुभव बटुलेका छौं,’ ग्वार्डिओलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘त्यसैले म अझै दुई सिजन बस्न पाउँदा निकै खुसी छु।’