काठमाडौं। लिग लिडर नेपाल पुलिस क्लबले ललित स्मृति एन्फा यु–१८ लिगमा चर्च ब्वोइज युनाइेडलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिस ३–१ ले विजयी भएको हो। जितसँगै पुलिसले दोस्रो स्थानको एनआरटीसँगको अंक दूरी सातमा पुर्याएको छ। पुलिसको ११ खेलबाट २६ र एक खेल कम खेलेको एनआरटीको १९ अंक छ।
नवौं स्थानको चर्च ब्वोइजको ११ खेलबाट १४ अंक छ। पुलिसले खेलको तेस्रो मिनेटमै सुरुआती अग्रता लिने मौका गुमाएको थियो। कप्तान सुवास बलले प्रहार गरेको पेनाल्टी गोलमा परिणत हुन सकेन। ११औं मिनेटमा सुवासले नै पुलिसलाई अग्रता दिलाए।
४५औं मिनेटमा चिरण कार्कीले अर्को गोल थपेपछि पहिलो हाफमा पुलिस २–० ले अगाडि रह्यो। ४७औं मिनेटमा अनुज थिङले गोल गर्दै चर्च ब्वोइजलाई खेलमा फर्काउने प्रयास गरे।
तर, ७२औं मिनेटमा सुवासले अर्को गोल गर्दै चर्च ब्वोइजलाई खेलमा फर्किन दिएनन्।