काठमाडौं। गेर्सनको उत्कृष्ट गोलसँगै ब्राजिलले सन् २०२६ को विश्वकप छनोटअन्तर्गत मंगलबार उरुग्वेसँग १–१ गोलको बराबरी खेलेको छ।
पाँच पटकको विश्वकप विजेता ब्राजिल कोलम्बिया र इक्वेडरभन्दा एक अंकले पछि रहँदै १८ अंकका साथ कोन्मेबोल तालिकाको पाँचौं स्थानमा छ।
उरुग्वे २० अंकका साथ दोस्रो स्थानमा छ र शीर्ष स्थानमा रहेको अर्जेन्टिनाभन्दा पाँच अंकले पछि परेको छ। शीर्ष ६ टोलीले सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपमा स्वतः स्थान बनाउने छन्।
एरिना फोन्टे नोभमा ५५औं मिनेटमा रियल मड्रिडका मिडफिल्डर फेडेरिको भाल्भर्डेले गोल गर्दै उरुग्वेलाई सुरुआती अग्रता दिलाएका थिए। तर, त्यसको सात मिनेटपछि उरुग्वेका डिफेन्सको खराब क्लियरेन्सपछि फ्लामेन्गोका मिडफिल्डरले उत्कृष्ट भलीमार्फत आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए। योसँगै ब्राजिल हारबाट जोगिएको छ।