काठमाडौं। लाउटारो मार्टिनेजको गोलको मद्दतमा अर्जेन्टिनाले मंगलबार ब्यूनस आयर्समा भएको दक्षिण अमेरिकी विश्वकप छनोट खेलमा पेरुमाथि १–० को जित निकालेको छ।
यो जितसँगै लिओनल मेसीको टोलीले सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपमा स्थान पक्का गरेको छ। ५५औं मिनेटमा मेसीले पेनाल्टी एरियामा गरेको बललाई गोलमा परिणत गर्दै मार्टिनेजलाई अग्रता दिलाएका थिए।
अर्जेन्टिना १२ खेलबाट २५ अंकका साथ दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा छ। यो हारसँगै पेरु १०औं स्थानमा यथावत छ। राउन्ड रोबिनमा भइरहेको छनोटमा पेरु ७ अंकसहित अन्तिम स्थानमा रहेको हो। बिहीबार पाराग्वेसँग २–१ ले पराजित भएपछि कप्तान मेसीले पनि राम्रो प्रदर्शन गरेका थिए।
मंगलबार नै भएको खेलमा एन्नर भ्यालेन्सियाको निर्णायक गोलमा इक्वेडरले कोलम्बियामाथि १–० को जित हात पारेको छ। खेलको ३४औं मिनेटमा इक्वेडरका डिफेन्डर पिएरो हिनकापी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
बोलिभिया र पाराग्वेले २–२ गोलको बराबरी खेलेका छन्। दक्षिण अमेरिकी विश्वकप छनोटको अर्को चरणका खेल मार्चमा हुनेछ।