काठमाडौं। धर्बेन्द्र कुँवरको ह्याट्रिकसँगै जावलाखेल युथ क्लब ललितस्मृति एन्फा यु–१८ युथ लिगमा छैटौं स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको दोस्रो खेलमा जावलाखेलले सातदोबाटोलाई ४–१ ले पराजित गरेको हो। चौथो जितसँगै जावलाखेलले १० खेलबाट १४ अंक पुर्याएको छ। पराजित सातदोबाटो चार अंकसहित ११औं स्थानमा छ।
३८औं मिनेटमा निष्पक्ष बरालले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए। तर, उक्त अग्रता कायम राख्न सकेन। ५०औं मिनेटमा धर्बेन्द्रले खेल बराबरीमा ल्याए। त्यसको पाँच मिनेटपछि नै प्रशान्त तामाङले अग्रता २–१ मा पुर्याए। ६९ र ८४औं मिनेटमा धर्बेन्द्रले गोल गर्दै ह्याट्रिक पूरा गरे र जावलाखेलले जित पनि निकाल्यो।