डुसान्बे। मुख्य प्रशिक्षक नवीन न्यौपानेले शनिबार अफगानिस्तानविरुद्ध डुसान्बे, ताजिकिस्तानमा प्रतिस्पर्धा गर्ने नेपाली टिमको पहिलो रोजाईमा ५ खेलाडी परिवर्तन गरेका छन्। खेल सेन्ट्रल स्टेडियम, डुसान्बे स्थानीय समयअनुसार साँझ ६ बजे (नेपाली समय साँझ पौने ७ बजे) सुरु हुने छ।
प्रशिक्षक न्यौपानेले ताजिकिस्तानविरुद्ध ४–० ले हारेको खेलमा पहिलो रोजाईमा मैदानमा उत्रिएका डिफेन्डर सुमित श्रेष्ठ र विमल पाण्डे तथा मिडफिल्डडर एरिक विष्ट, रोहन कार्की र भरत खवासलाई ‘बेञ्च’ मा राख्दै फिफा अफगानिस्तानविरुद्ध खेल्ने टिम घोषणा गरेका हुन्।
उनले डिफेन्डर अभिषेक लिम्बु, मिडफिल्डर मणि लामा, उत्सव राई, मनीष डाँगी र फरवार्ड आयुष घलानलाई पहिलो रोजाईमा खेल्ने अवसर दिएका छन्। कप्तान एवम् गोलकिपर किरण चेम्जोङ, डिफेन्डसमा रोहित चन्द, छिरिङ लामा र सनिश श्रेष्ठ, अग्रपंक्तिमा जिलेस्पीजंग कार्की र अन्जन विष्ट यथावत् छन्।
‘टिमका सबै खेलाडीले खेल्ने अवसर पाउनुपर्छ र त्यहीअनुसार टिममा परिवर्तन गर्दै पहिलो रोजाईमा खेल्ने खेलाडी परिवर्तन गरिएको हो,’ प्रशिक्षक न्यौपानेले भने, ‘खेलको परिस्थिति अनुसार नयाँ खेलाडीलाई पनि मौका दिइनेछ।’ घरेलु टिम ताजिकिस्तानविरुद्ध ५–३–२ को संरचनामा खेलाएका उनले अफगान टिमविरुद्ध ४–३–३ को शैली अपनाएका छन्।
नेपालले ११ वर्षपछि अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो। यी दुई टिम पछिल्लोपल्ट काठमाडौंमा सन् २०१३ मा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा भिडेका थिए। अफगानिस्तानले १–० को जित निकालेको उक्त खेलमा पाएको पेनाल्टीमा रोहित चन्द चुकेका थिए। उक्त साफको फाइनलमा भारतलाई हराएर अफगानिस्तान च्याम्पियन नै भएको थियो।
अफगानिस्तानविरुद्ध खेल्ने नेपाली टिम
गोलकिपर: किरण चेम्जोङ (कप्तान)
गोलकिपर: सनिश श्रेष्ठ, रोहित चन्द, अभिषेक लिम्बु, छिरिङ लामा
मिडफिल्डर: मणि लामा, उत्सव राई, मनीष डाँगी
फरवार्ड: आयुष घलान, अन्जन विष्ट, जिलेस्पीजंग कार्की
मुख्य प्रशिक्षक: नवीन न्यौपाने
सहायक प्रशिक्षक: चेतकुमार घिमिरे
गोलकिपिङ कोच: नवीन महर्जन