एजेन्सी । दोस्रो वरियताका स्पेनिस स्टार राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको सेमीफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार भएको क्वाटरफाइनलमा अमेरिकन खेलाडी फ्रान्सिस टियाफोलाई हराएर १७ पटकको ग्राण्डस्लाम विजेता नाडालले अन्तिम चारको यात्रा तय गरेका हुन् । मेलबर्न पार्कमा ३२ बर्षीय नाडालले टियाफोलाई ६-३,६-४ र ६-२ को सेटमा हराए ।
महिलातर्फ चेक गणतन्त्रकी पेट्रा कोभिटोभाले सेमिफाइनलमा स्थान बनाएकी छिन् । क्वाटरफाइनलमा अष्ट्रेलियाकी एश्ली बार्टीलाई ६-१ र ६-४ को सेटमा हराईन ।
योसंगै पेट्रा हतियार धारीको आक्रमणपछि पहिलो पटक ग्राण्डस्लाम टेनिसको सेमिफाइनलमा स्थान बनाएकी हुन् । पेट्रालाई सन् २०१६ मा हतियार धारी डाकाहरुले चक्कु प्रहार गरेर घाइते बनाएका थिए ।