काठमाडौं। रुबेन अमोरिमले म्यानचेस्टर युनाइटेडका समर्थकलाई २० पटकको इङ्लिस प्रिमियर लिग च्याम्पियनलाई राम्रो लयमा फर्काउन आफूले सक्दो प्रयास गर्ने बताएका छन्।
सन् २०१३ मा १३औं लिग उपाधि जितेपछि युनाइटेडका पूर्वप्रशिक्षक एलेक्स फर्गुसनले सन्यास लिएका थिए। त्यसयता ओल्ड ट्राफोर्डमा एक दशकभन्दा बढी समयदेखि युनाइटेड संघर्ष गरिरहेको छ। उनको युगसँगै युनाइटेडको अन्त्य भएको छ।
यसै महिना स्पोर्टिङ लिस्बनबाट नियुक्त गरिएको अमोरिमले युनाइटेडलाई फेरि लयमा फर्काउने चुनौतीलाई अँगालेका छन्। शुक्रबार उनले भने, ‘म यो क्लबलाई यसको स्थानमा राख्न सबै कुरा गर्ने प्रयास गर्नेछु। हामी सफल हुन्छौं भन्नेमा मलाई धेरै विश्वास छ।’ ३९ वर्षीय पोर्चुगिज पूर्वखेलाडी युनाइटेडका छैटौं स्थायी प्रशिक्षक हुन्।
डेभिड मोयस, लुइस भान गाल, जोसे माउरिन्हो, ओले गनर सोल्सजायर र एरिक टेन हाग सबै पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले घरेलु मैदानमा प्रभुत्व जमाएको समयमा युनाइटेडलाई इङ्लिस र युरोपेली फुटबलको शिखरमा फर्काउन असफल भए। युनाइटेडले सन् १९८६ पछि सबैभन्दा खराब लिग सुरु गरेको छ। यो सिजनको दौडान अमोरिमले परिवर्तन गर्ने सम्भावना कम छ।
‘हामीलाई समय चाहिन्छ। तर, हामीले समयलाई जित्नु पर्छ। समय जित्नु भनेको खेल जित्नु हो,’ अमोरिमले युनाइटेडको इन–हाउस च्यानलसँग भने, ‘तर, मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा पहिचान हो। त्यसैले पहिलो दिनदेखि नै हामी आफ्नो पहिचानबाट सुरु गर्नेछौं।’