काठमाडौं। मिकेल ओयार्जाबल र अयोज पेरेजको गोलसँगै डेनमार्कलाई २–१ ले पराजित गर्दै स्पेन नेसन्स लिग को समूह ‘ए’ को शीर्ष स्थानमा उक्लेको छ।
युरो २०२४ को फाइनलमा इङ्ल्यान्डलाई २–१ ले हराएको स्पेनले १५औं मिनेटमा ओयार्जाबलले डिबक्सभित्रबाट गरेको गोलमार्फत स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए।
स्पेनका ‘सब्स्टिच्युट’ फाबियन रुइजको गल्तीले डेनमार्कका गुस्ताभ इसाक्सेनले सान्त्वना गोल फर्काए। तर, सन् १९९३ यता स्पेनलाई हराउन नसकेको डेनमार्कलाई उक्त गोल पर्याप्त रहेन।
‘हामी जित हासिल गर्ने उद्देश्यका साथ यहाँ आएका थियौं। केही कष्ट भोग्नु पर्छ भन्ने हामीलाई थाहा थियो। तर, यो नतिजाबाट हामी खुसी छौं,’ ओयार्जाबलले भने।
एक राउन्ड बाँकी रहँदा स्पेनको १३ अंक छ। डेनमार्क भने ६ अंकले पछि परेको छ। सर्बियासँग १–१ को बराबरी खेलेपछि स्विट्जरल्यान्ड रेलिगेसनमा परेको छ। सर्बियाको पाँच अंक छ। दोस्रो स्थान र क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न डेनमार्कले सोमबार सर्बियासँग प्रतिस्पर्धा गर्नेछ।
गत महिना सर्बियाविरुद्ध घरेलु मैदानमा ३–० को जित हात पारेपछि नकआउटमा स्थान पक्का गरिसकेको स्पेनले घुँडाको गम्भीर चोटका कारण डानी कार्भाजल र रोड्रीलाई गुमाएको थियो। लामिन यमल र रोबिन ले नोर्मान्डजस्ता प्रमुख खेलाडी अनुपस्थित रहे पनि आफ्नो उत्कृष्ट लय कायमै राखेको छ।
स्पेनले आफ्नो अग्रता बढाउन धेरै अवसर खेर फालेको थियो। तर, ५८औं मिनेटमा डानी ओल्मोको पासमा अन्ततः पेरेजले ‘अफसाइड ट्रयाप’ गर्दै दोस्रो गोल गरे।