काठमाडौं। जोन म्याकगिनको निर्णायक गोलसँगै स्कटल्यान्डले नेसन्स लिग फुटबलमा १० खेलाडीमा सीमित क्रोएसियामाथि जित हात पारेको छ। स्कटल्यान्डको यो ९ खेलमा पहिलो जित हो।
स्कटल्यान्डको ह्याम्पडेन पार्कमा भएको खेलको पहिलो हाफ सकिँन दुई मिनेट बाँकी रहँदा पेटर सुकिच दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। तर, स्कटल्यान्डले त्यसलाई सदुपयोग गर्न सकेन।
१९ वर्षीय बेन डोकले दोस्रो हाफमा घरेलु टोलीका लागि उत्कृष्ट प्रदर्शन गरे पनि खेल सकिन चार मिनेट बाँकी छँदा सब्स्टिच्युट म्याकगिनले गोल गर्दै ह्याम्पडेन पार्कमा उपस्थित दर्शकलाई खुसी तुल्याए।
दुर्लभ जितसँगै समूह ‘ए’मा स्कटल्यान्डको दुई तथा पोल्यान्डको चार अंक छ। सोमबार वार्सामा हुने खेलमा स्कटल्यान्डलाई रेलिगेसनबाट जोगिन जित्नै पर्ने दबाब छ।