काठमाडौं। अर्जेन्टिनाका कप्तान लिओनल मेसी र विंगर ब्राजिलका भिनिसियस जुनियरले दक्षिण अमेरिकी विश्वकप छनोटमा निराशाजनक रात बिताएका छन्।
मेसीले पाराग्वेसँग २–१ को हार टार्न सकेनन्। यता, भिनिसियसले दोस्रो हाफमा प्राप्त पेनाल्टीमा गोल गर्न नसक्दा ब्राजिलले भेनेजुएलासँग १–१ को बराबरी खेल्नुपर्यो।
११ खेलबाट २२ अंक जोडेको अर्जेन्टिना १० टिमसम्मिलित राउन्ड रोबिन प्रतियोगिताको शीर्ष स्थानमा यथावत छ। ब्राजिल १७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ।
मेसी विरोधी सन्देश
अर्जेन्टिनाले पाराग्वेमा खेलेको थियो र आयोजकले स्थानीय समर्थकलाई मेसीका कुनै पनि जर्सी लगाउन प्रतिबन्ध लगाएको थियो। असुन्सिओनमा भएको खेलको ‘टिभी फुटेज’मा घरेलु समर्थकको ठूलो हिस्साले पाराग्वेको रातो र सेतो रङ लगाएका थिए। प्रत्यक्ष प्रसारणमा मेसीको जर्सी लगाइएको कुनै ‘फुटेज’ देखाइएको थिएन।
मेसीले पहिलो हाफमा बल छुने थोरै मात्रै अवसर प्राप्त गरे। तर, ११औं मिनेटमा लाउटारो मार्टिनेजले क्रस सटमार्फत गोल गर्दै अर्जेन्टिना अग्रता दिलाए। ‘भिडियो रिभ्यु’ पछि उनले गरेको गोललाई मान्यता दिइएको हो।
१९ औं मिनेटमा एन्टोनियो सानाब्रियाको पासमा पाराग्वेका डिफेन्डर गुस्ताभो गोमेजले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। घरेलु टोलीले त्यसपछि दबाब जारी राखे र अर्जेन्टिनी स्टारलाई चल्न दिएनन्। खेलको ४७ औं मिनेटमा ओमार अल्डेरेटले गोल गर्दै पाराग्वेलाई जित दिलाउन सफल भए।
अल्डेरेटलाई आक्रामक ट्याकलका लागि कार्ड नदिएको भन्दै मेसी ब्राजिलियन रेफ्री एन्डरसन डारोन्कोसँग रुष्ट भएका थिए। ‘टोलीले निकै संघर्ष गर्ये। यो खेलमा हामीले गरेका धेरै गल्तीलाई सच्याउनुपर्छ। तर, सामान्यतया भन्नुपर्दा हामी राम्रो खेलिरहेका छौं। हामी अझै पनि शीर्ष स्थानमा छौं। तर, हामीले योभन्दा अगाडि हेर्नुपर्छ,’ मार्टिनेजले भने।
भिनिसियसको निराशाजनक प्रदर्शन
भिनिसियस विश्वकप छनोटका ६ खेलमा गोलविहीन छन्। राजधानी काराकासबाट ५०० किलोमिटर पश्चिममा रहेको माटुरिन सहरको मोनुमेन्टल रंगशालामा उनले ६७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्ने अवसर प्राप्त गरेका थिए। यो गोलले नै ब्राजिललाई तीन अंक दिलाउने लगभग पक्का थियो। तर, उनको ‘लो स्पट किक’ लाई गोलकिपर राफेल रोमोले बचाए।
४३औं मिनेटमा राफिन्हाले फ्रिकिकबाट गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। तर, भेनेजुएलाका २१ वर्षीय तेलास्को सेगोभियाले ४६ औं मिनेटमा डिबक्सको किनाराबाट सशक्त प्रहारलाई गोलमा परिणत गर्दै भेनेजुएलाले बराबरी गोलमा फर्काए। ८९औं मिनेटमा ग्याब्रियल मार्टिनेलीको अनुहारमा कुइनोले प्रहार गरेपछि एलेक्जेन्डर गोन्जालेजलाई भेनेजुएलाले गुमाउन पुगेको थियो। त्यसपछि भेनेजुएला १० खेलाडीमा सीमित भयो।
राफिन्हाले यो नतिजाले आफू निराश रहेको प्रतिक्रिया दिए। ‘हामी यो जितको हकदार थियौं। तर, यो खेल गुमाउन पुग्यौं। त्यसैले म निराश छु,’ उनले खेलपछि भने, ‘तर, यो एक महत्वपूर्ण बिन्दु हो। हामी घरेलु मैदानमा अर्को एक खेल जित्न कडा मिहिनत गरिरहेका छौं।’