काठमाडौं। भिनिसियस जुनियरले दोस्रो हाफमा पेनाल्टी मिस गरेपछि ब्राजिलले शुक्रबार भेनेजुएलासँग १–१ गोलको बराबरी खेलेको छ। योसँगै रियल मड्रिडका स्टारले विश्वकप छनोटमा गोलविहीन यात्रा लम्बाएका छन्।
खेलको ६७औं मिनेटमा भिनिसियसले पेनाल्टीमार्फत गोल गर्ने अवसर पाएका थिए। तर, उनको ‘लो स्पट किक’लाई गोलकिपर राफेल रोमोले बचाए।
४३औं मिनेटमा राफिन्हाले फ्रिकिकबाट गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। तर, भेनेजुएलाका २१ वर्षीय तेलास्को सेगोभियाले ४६ औं मिनेटमा डिबक्सको किनाराबाट सशक्त प्रहारलाई गोलमा परिणत गर्दै भेनेजुएलाले बराबरी गोलमा फर्काए।
८९औं मिनेटमा अलेक्जेन्डर गोन्जालेज मैदानबाट बाहिरिएपछि भेनेजुएला १० खेलाडीमा सिमित भएको थियो। यो बराबरीसँगै ११ खेलबाट १७ अंक जोडेको ब्राजिल १० टोलीको तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। भिनिसियसले दक्षिण अमेरिकी विश्वकप छनोटमा ६ खेल खेलेका छन्, जसमा एक असिस्ट गरे पनि गोल निकाल्न सकेका छैनन्।
‘हामी यो जितको हकदार थियौं,’ राफिन्हाले खेलपछि भने, ‘हामी घरेलु मैदानमा अर्को एक जित्नको लागि कडा मिहिनत गरिरहेका छौं।’ ब्राजिलले मंगलबार साल्भाडोरमा उरुग्वेको सामना गर्नेछ भने भेनेजुएलाले चिलीसँग खेल्नेछ।