काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा यस वर्षका अन्तिम दुई चरणका खेल सुरु भएसँगै ब्राजिलले स्टार खेलाडीलाई पुनः टोलीमा फिर्ता बोलाएको छ।
ब्राजिलले विंगर भिनिसियस जुनियरलाई टोलीमा बोलाएको हो। उनी चोटका कारण अन्तिम दुई छनोट खेलमा टोलीबाहिर थिए। तर, निको भएसँगै उनी टोलीमा फर्किएका हुन्।
चौथो स्थानको ब्राजिलले भेनेजुएलाको भ्रमण गर्नेछ। त्यसको चार दिनपछि अर्थात नोभेम्बर १९ मा ब्राजिलले घरेलु मैदानमा उरुग्वेसँग खेल्ने छ। यो खेलसँगै सबै टोलीले १२औं चरण समाप्त गर्नेछन्।
अर्जेन्टिनाको २२ अंक छ, जुन दोस्रो स्थानमा रहेको कोलम्बियाको भन्दा तीन अंक बढी हो। उरुग्वे र ब्राजिल समान १६–१६ अंकका साथ तेस्रो र चौथो स्थानमा छन्। इक्वेडर र पाराग्वे १३ अंकका साथ शीर्ष ६ मा छन्। यो क्षेत्रबाट शीर्ष ६ टोलीले सिधैं विश्वकपमा स्थान बनाउने छ।
दबाबमा भिनिसियस
ब्राजिलका प्रशिक्षक डोरिभल जुनियरमाथिको दबाब गत अक्टोबरमा चिली र पेरुविरुद्ध दुई खेलमा जित हात पारेसँगै हटेको थियो। उक्त खेलमा ब्राजिलले चिलीलाई २–१ र पेरुलाई ४–० ले हरायो। ती दुवै खेलमा भिनिसियस ब्राजिली टोलीसँग थिएनन्।
भेनेजुएला र उरुग्वेसँग खेल्दा उनीमाथि सबैको नजर रहने छ। यी दुई टोलीको बलियो डिफेन्स लाइन तोड्न उनलाई चुनौतीपूर्ण हुनेछ। उनले ब्राजिलबाट खेल्दै रियल मड्रिडमा निर्णायक प्रदर्शनलाई निरन्तरता दिने प्रयास गर्नेछन्।
यसै महिनाको सुरुमा मांसपेशीमा चोट लागेका नेयमारलाई ब्राजिलले फेरि एकपल्ट टोलीमा स्थान दिने छैन। रोड्रीगो पनि घाइते भएका कारण सेन्टर फरवार्डमा कुनै ठूलो नाम समावेश छैन। यता, एन्ड्रिकलाई पनि छनोट भएका छैनन्। भिनिसियसले सम्भवतः राफिन्हा र लुइज हेनरिकसँग प्रभावकारी रूपमा लिंकअप गर्नुपर्नेछ। त्यसैले उनी दबाबमा हुनेछन्।
भिनिसियसले दुई टोलीको सामना गर्नेछन्, जुन उथलपुथलको चरम बिन्दुमा छन्। भेनेजुएलाले पछिल्ला ६ छनोट खेलमध्ये कुनै पनि जित्न सकेको छैन र उरुग्वेका प्रशिक्षक मार्सेलो बिएल्सा अझै पनि पूर्वखेलाडीबाट आलोचनाको शिकार भइरहेका छन्।
यी दुई जितले ब्राजिललाई अर्को विश्वकपमा पुर्याउन भने सक्ने छैन। तर, खराब प्रदर्शनबाट गुज्रिरहेको टोलीलाई केही राहत भने हुनेछ।