डुसान्बे। ताजिक राजधानीको चिसो मौसम। बिहानैदेखि परेको सिमसिमे पानी। यस्तैमा नेपाली राष्ट्रिय फुटबल टोलीले ताजिकिस्तानविरुद्ध ६ वर्षपछि प्रतिस्पर्धा गर्दै छ।
दुवै टिम मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्न सेन्ट्रल स्टेडियम, डुसान्बे आइसकेको छ। स्थानीय समयअनुसार साँझ ६ बजे (नेपाली समय साँझ पौने ७ बजे) सुरु हुने खेलमा घरेलु टोलीलाई बलियो मानिएको छ। किनभने उसले विगत नेपालविरुद्ध खेलेका तीनै खेल जितेको छ। र, यो खेलमा ताजिक टोलीलाई घरेलु मैदान र दर्शकको साथ पनि हुनेछ।
तर, इतिहासका तथ्यांक, चिसो मौसम र फरक मैदानमा पनि नेपाली टोली उत्कृष्ट प्रदर्शन गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाउँदै सकारात्मक नतिजा निकाल्न चाहन्छ। मुख्य प्रशिक्षक नवीन न्यौपाने फिफा वरीयतामा ५१ स्थानमाथि रहेको ताजिक टोली एसियन कप २०२३ को क्वार्टरफाइनल पुगेकोबारे सचेत छन्। ताजिक टोलीलाई इरान, उज्बेकिस्तान, रुसका लिगमा आबद्ध खेलाडीको साथ पनि छ।
नेपाली टोलीलाई इन्डियन सुपर लिग खेलेका गोलकिपर किरण चेम्जोङले मैदानमा नेतृत्व गर्दै छन्। इन्डोनेसियाको शीर्ष डिभिजन लिगमा १३ वर्षयता खेलिरहेका रोहित चन्द डिफेन्समा छन्। कीर्तिमान १४औं गोलको लागि प्रयासरत अञ्जन विष्ट अग्रपंक्तिमा छन्। त्यसैले अनुभवी र युवा खेलाडी मिश्रित नेपाली टोलीले ताजिकिस्तानविरुद्ध हारको श्रृंखला टार्ने प्रयास गर्नेछ।
पहिलोपल्ट राष्ट्रिय टिम सम्हाल्ने अवसर पाएका प्रशिक्षक न्यौपानेले ५–३–२ को संरचनामा खेलाउने तयारी गरेका छन्।
ताजिकिस्तानविरुद्ध पहिलो रोजाइमा खेल्ने नेपाली टोली
गोलकिपर: किरण चेम्जोङ (कप्तान)
गोलकिपर: सुमीत श्रेष्ठ, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ
मिडफिल्डर: एरिक विष्ट, रोहन कार्की, भरत खवास
फरवार्ड: अञ्जन विष्ट, जिलेस्पीजंग कार्की
मुख्य प्रशिक्षक: नवीन न्यौपाने
सहायक प्रशिक्षक: चेतकुमार घिमिरे
गोलकिपिङ कोच: नवीन महर्जन