डुसान्बे। नेपालको तुलनामा ताजिकिस्तानको फुटबल राम्रो छ। ताजिक टोली गत वर्ष भएको एसियन कप २०२३ को क्वार्टरफाइनल पुगेको थियो। फिफा वरीयतामा नेपालभन्दा ५१ स्थानमाथि छ ताजिकिस्तान। उसले नेपालसँग खेलेका तीनै खेल जितेको छ।
त्यही पनि ताजिकिस्तानका मुख्य प्रशिक्षक गेला सेकिलाजे बुधबार हुने मैत्रीपूर्ण खेलमा नेपालको चुनौतीलाई सहज रूपमा नलिएको बताउँछन्। गत अक्टोबरमा सिरिया र फिलिपिन्सविरुद्ध हारेपछि सेकिलाजे र उनको टोलीको आलोचना भइरहेको छ। त्यसैले ताजिक टोलीलाई सेन्ट्रल स्टेडियम, डुसान्बेमा नेपालविरुद्ध हुने खेलमा जित्नै पर्ने दबाब छ।
फिफा वरीयताको १०५औं स्थानमा रहेको टोली सम्हालेका सेकिलाजेले पत्रकार सम्मेलनमा भने, ‘भोलि (बुधबार) धेरै राम्रो खेल हुनसक्छ। किनभने नेपाल राम्रो टोली हो। उसका खेलाडी अनुभवी छन्,’ उनले थपे, ‘हामीलाई थाह छ कि हाम्रो पछिल्लो खेल राम्रो भएको थिएन। हामी राम्रो खेल प्रदर्शन गर्दै समर्थकलाई खुसी पार्ने प्रयास गर्नेछौं।’
प्रशिक्षक पिटर सेगर्टले सम्हालेको ताजिक टोलीले एसियन कप डेब्युमै सनसनीपूर्ण यात्रा गर्दै क्वार्टरफाइनल खेलेको थियो। उनकै नेतृत्वमा थाइल्यान्डमा किङ्स कप २०२२ र मलेसियामा मर्डेका कप २०२३ को उपाधि जितेको थियो। उनको बिदाइपछि फेब्रुअरी २०२४ देखि सेकिलाजेले ताजिक टोली सम्हालेका हुन्।
नेपाल र अफगानिस्तानविरुद्ध घरेलु मैदानमा हुने प्रतिस्पर्धा प्रशिक्षक सेकिलाजेले जित्नै पर्ने दबाबमा इरान, रुस, उज्वेकिस्तानको लिगमा व्यस्त रहेका खेलाडीलाई पनि ताजिक टोलीमा समावेश गरेका छन्।
नेपाली टिमका मुख्य प्रशिक्षक नवीन न्यौपानेले पनि डिफेन्सलाई संगठित बनाउँदै ताजिकिस्तानविरुद्ध काउन्टर अट्याकमा अगाडि बढ्ने बताएका छन्। उनले भने, ‘ताजिकिस्तान बलियो टोली हो। कडा मिहिनेत गर्दै संगठित रुपमा काउन्टर अट्याकमा खेल्नेछौं। खेलमा १–२ अवसर पाउँछ र त्यसलाई उपयोग गर्दै सकारात्मक रिजल्ट दिनेछौं।’