काठमाडौं। सन् २०२३ को महिला विश्वकपको फाइनलिस्ट स्पेन र इङ्ल्यान्ड नेसन्स लिगमा एकै समूहमा परेका छन्। अर्को वर्ष हुने प्रतियोगिताका लागि यी दुई टोली समूह ‘ए’ मा परेका हुन्।
विश्व विजेता स्पेन र युरोपियन च्याम्पियन इङ्ल्यान्डले फेब्रुअरी १९ देखि जुन ३ सम्म हुने खेलमा बेल्जियम र पोर्चुगलको सामना गर्नेछन्।
सिड्नीमा भएको फाइनलमा स्पेनले इङ्ल्यान्डलाई १–० ले पराजित गर्दै विश्वकप जितेको थियो। युरो कप २०२२ को उपविजेता जर्मनीले नेदरल्यान्ड्स, अष्ट्रिया र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
आगामी जुलाईमा हुने युरो २०२५ को आयोजक आइसल्याण्ड, नर्वे र स्विट्जरल्याण्डसँगै फ्रान्स समूहमा परेको थियो । इटालीले डेनमार्क, स्वीडेन र वेल्ससँग खेल्नेछ ।
हरेक समूहका शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। स्पेन नेसन्स लिगको डिफेन्डिङ च्याम्पियन हो। स्पेनले गत फेब्रुअरीमा फ्रान्सलाई फाइनलमा पराजित गरेको थियो।