नेपालको लक्ष्य : ताजिकिस्तानलाई रोक्ने, अफगानिस्तानलाई हराउने

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमले ठूला वा बलिया टिमसँगै विरलै खेल्ने गरेको छ। विश्वकप र एसियन कपको छनोटमा कहिलेकाहीँ शक्तिशाली टिमसँग जुध्नुपर्ने बाध्यता आइलाग्छ। मैत्रीपूर्ण खेलमा भने जित्ने दाउमा साना टिमसँग मात्रै खेलेको आरोप पनि छ। यसपालि भने दरिलै आँट गरेको छ ठूला टिमविरुद्ध भिड्ने।
पुरुष फुटबलको लागि तोकिएको ‘फिफा इन्टरनेसनल म्याच क्यालेन्डर’ (११–१९ नोभेम्बर) मा नेपाली टिमले डुसान्बे यात्रा गर्दै छ, जहाँ उसले घरेलु टिम ताजकिस्तान र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ। यी मैत्रीपूर्ण खेलमा १३ नोभेम्बरमा ताजिकिस्तानको सामना गरेपछि नेपालले १६ नोभेम्बरमा अफगानिस्तानविरुद्ध खेल्नेछ।
नेपाली टिम फिफा वरीयतामा १७६औं स्थानमा छ। एसियन कप २०२३ को क्वार्टरफाइनल खेलेको काजकिस्तान १०५औंमा छ भने अफगानिस्तान १५१ औंमा रहेको छ। नेपालले ७ वर्षपछि ताजिकिस्तानविरुद्ध खेल्न लागेको हो।
साफ च्याम्पियनसिप २०१३ को च्याम्पियन भएपछि दक्षिण एसियाली फुटबल महासंघ (साफ) छाडेर मध्य एसियाली क्षेत्र पुगको अफगानिस्तानसँग नेपालले नखेलेको पनि दशक भइसकेको छ। अफगानिस्तानले दशरथ रंगशालामा ११ वर्षअघि साफ च्याम्पियन बन्ने क्रममा सेमिफाइनलमा नेपाललाई पराजित गरेको थियो।
खेलाडीमा विदेश पलायन र चोटको पीडाबीच दुई हप्ताको तयारीमा पनि राष्ट्रिय टिमका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपाने महत्वकांक्षी देखिएका छन्। पहिलोपल्ट राष्ट्रिय टिम सम्हाल्ने जिम्मेवारी पाएका उनले डुसान्बे यात्राको लक्ष्यबारे भने, ‘ताजिकिस्तानसँग बराबरी गर्ने र अफगानिस्तानविरुद्ध जित हात पार्ने लक्ष्य राखेका छौं।’

पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका प्रशिक्षक न्यौपानेले भने, ‘वरीयताको हिसाबले दुवै प्रतिद्वन्द्वी बलिया छन्। पहिला हामी खेल्दा अफगानिस्तानलाई जित्थ्यौं। अहिले त्यो अवस्था छैन। दुवै टिममा युरोपमा खेल्ने खेलाडी छन्। हरेक खेलाडीलाई पोजिनसनअनुसार जिम्मेवारी दिन्छु, त्यो भूमिका कसरी निर्वाह गर्छन् भन्ने हो।’
उनले थपे, ‘म मनाङमस्र्याङदीबाट खेल्दा ताजिकिस्तानको क्लबलाई दुईपल्ट जितेका थियौं तर राष्ट्रिय टिममा फरक हुन्छ। बलियो टिमसँग खेल्दा संगठित भएर खेल्नुपर्छ। एक–दुई अवसर पाउँछ, त्यसलाई हामीले उपयोग गर्न सक्नुपर्छ।’
नेपाली पुरुष टिम पाँच महिनापछि मैदानमा फर्किन लागेको हो। ‘छोटो तयारीमा बलियो टिमसँग खेल्नु छ,’ प्रशिक्षक न्यौपानेले भने, ‘ठूला टिमसँग खेल्दा खेलाडी व्यवस्थापन र संगठित खेल महत्त्वपूर्ण हुन्छ। यसलाई २ हप्तामा राम्रो गर्ने प्रयास गरिरहेको छु। सकारात्मक नतिजाको आशा गरेको छु। गर्व गर्नलायक नतिजा दिन चाहन्छु।’
चोट र पलायनको पीडा
नेपाललाई लक्ष्यप्राप्तिको बाटो सहज भने छैन। अनुभवी डिफेन्डर अनन्त तामाङ, उदीयमान मिडफिल्डर लाकेन लिम्बु, युवा स्ट्राइकर समीर तामाङ चोटग्रस्त छन्। विश्वकप २०२६ छनोटको अन्तिम खेलमा यमनविरुद्ध २–२ मा टुंगिएको खेलमा एक गोल गरेका सञ्जीव विष्ट बिदेसिए।
ए डिभिजन लिग नियमित सञ्चालन नहुँदा खेलाडी उत्पादनमै समस्या छ। तैपनि युवा खेलाडीहरू रनदीप पौडेल, एन्जल महर्जन, अभिषेक वाइबा र नीराजन धामीले पहिलोपल्ट राष्ट्रिय टिममा स्थान बनाएका छन्।
प्रशिक्षक न्यौपानेले भने, ‘अनन्त र लाकेन नहुँदा गाह्रो त हुन्छ नै तर नयाँलाई पनि अवसर हो यो। नयाँ खेलाडीमा एकपल्ट मौका पायो भने आफ्नो खेल देखाएर ठाउँ लिन्छु भन्ने हुन्छ। युवा खेलाडीले त्यो अवसरलाई उपयोग गर्नुपर्छ।’













-1763904378702.png&w=3840&q=75)