काठमाडौं। साफ महिला च्याम्पियनसिप २०२४ मा समूहचरणका खेल सञ्चालन हुन बाँकी नै रहेको अवस्थामा नेपाली टिमकी पूर्वकप्तान अनु लामा विश्वास गर्छिन् कि यो साफको फाइनलमा घरेलु टिम नेपाल र भारतले खेल्नेछन्।
‘यो साफको फाइनल नेपालले नै खेल्छ जस्तो लाग्छ,’ पूर्वकप्तान लामाले खेलपाटीसँग भनिन्, ‘नेपाल, भारत र बंगलादेशमध्ये दुई टिमले फाइनल खेल्ने हो। यस्तोमा नेपाल र भारत फाइनलमा खेल्छन् जस्तो लाग्छ। र, उपाधि नेपालले जित्छ भन्ने लाग्छ। यसपालि हाम्रो उपाधिको खडेरी तोडियोस्।’
नेपालले साफको पाँचसहित ११ फाइनल खेलेर पनि अहिलेसम्म उपाधि जित्न सकेको छैन। लामाले साफको पहिलो संस्करण (सन् २०१०) देखि हिरो गोल्डकप (२०१९) खेल्ने क्रममा ६ फाइनलमा उत्रिएकी थिइन्। उनको २८ खेलमा ३५ गोलको रेकर्डलाई उछिन्दै सावित्रा भण्डारी ‘साम्बा’ (५३ गोल, ५१ खेल) नेपालका सर्वाधिक गोलकर्ता भएकी हुन्।
उनी भन्छिन्, ‘साम्बा युरोको अनुभव र रेखा (पौडेल) युएई लिग खेलेर आएपछि नेपाली टिम राम्रो भएको छ। हामीसँगै खेलेकी शशि (रेनुका नगरकोटे) सहित सरु लिम्बु, गीता रानासहितको यो टिम राम्रो छ। यो पुस्ताकै पालोमा नेपालले उपाधि जित्छ भन्ने लाग्छ। यो पालि विश्वास छ कि नेपालले साफको उपाधि जित्छ।’
समूह ‘ए’ मा भारत एकखेलअगावै सेमिफाइनल प्रवेश गरिसकेको छ। यस्तो अवस्थामा उसले मंगलबार डिफेन्डिङ च्याम्पियन बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ, जसमा अन्तिम चारमा स्थान बनाउन बंगलादेशलाई जित, बराबरी वा ३ गोलभन्दा कम अन्तरको हार चाहिएको छ। चौथो सर्त ः तीन गोल अन्तरकै हारमा पनि कम्तीमा तीन गोल गरेको अवस्थामा बंगलादेशले नकआउट यात्रा तय गर्नेछ। उसलाई यो सबै हिसाबको लागि पाकिस्तानविरुद्ध १–१ को बराबरीले धकेलेको हो।
समूह ‘ए’ को अन्तिम खेलमा बुधवार भारतविरुद्ध बंगलादेशले आक्रामक खेल पस्कने उल्लेख गर्दै उनी नेपालले सेमिफाइनल बंगलादेशविरुद्ध खेल्न पाओस् भन्ने बताउँछिन्। भन्छिन्, ‘भारत ५ पल्टको च्याम्पियन हो, उसले २ वर्ष अघिभन्दा सुधार गरेर खेल्न आएको छ। त्यै भएर पनि नेपालको सेमिफाइनल बंगलादेशविरुद्ध परोस्। अनि फाइनलमा नेपाल र भारत भिड्नेछन्।’
उनले नेपालले भुटानविरुद्ध गोलरहित खेल्दा गरेका गल्तीमा सुधार गर्दै माल्दिभ्समाथि ११–० को जित हासिल गरेको उल्लेख गर्दै भनिन्, ‘माल्दिभ्स प्रतियोगिताकै सबैभन्दा कमजोर टिम हो।’ नेपालले समूहको अन्तिम खेलमा बिहीबार श्रीलंकालाई पनि सहजै पराजित गर्ने आशा गरेकी छन्।