काठमाडौं । मार्सल तथा रेस अफिसियललाई तालिम दिन एफआईएम एसियाका अन्तराष्ट्रिय प्रशिक्षकहरु काठमाडौंं आईपुगेका छन् ।
शुक्रबारबाट सुरु हुने मार्सल तालिममा प्रशिक्षण दिन फर्मुला वान र मोटोजिपी जस्ता ईभेन्टका अनुभवी प्रशिक्षक काठमाडौं आईपुगेका हुन् ।
मार्सल तालिममा प्रशिक्षक सुजित कुमार, समिर सुनेजा र मन्दिप सिंहले प्रशिक्षण दिनेछन् ।
नासा नेपाल ट्रेनिङ तथा मार्सल कमिसन र मोटरसाइक्लिङ कमिसनसँगको सहकार्यमा मोटोभर्स नेपालले सञ्चालन गर्न लागेको मार्सल तालिममा सय जनाले प्रशिक्षण लिनेछन् ।
नासा नेपालका उपाध्यक्ष अनिलकुमार बरालले यस्ता कार्यक्रम विगत लामो समयदेखि हुँदै आएपनि अन्तराष्ट्रिय स्तरको तालिम भने पहिलो पटक हुन लागेको बताए । उनले प्रशिक्षार्थीलाई मोटर खेल, सुरक्षा, खेल कन्ट्रोल, मार्सलिङ, टुरिङ लगायतका विषयमा तालिम दिईने बताए ।
नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईले तालिमको आयोजनाबाट खेलाडी, अफिसियलको स्तर बढ्ने विश्वास ब्यक्त गरे । अन्तराष्ट्रिय स्तरको मार्सल तालिम नासा नेपाल र मोटोभर्स नेपालले मिलेर पहिलो पटक नेपालमा आयोजना गर्न लागेका हुन् ।