पोखरा । नेपालमा पहिलो पटक पिकलबल खेलको सुरुवात भएको छ । नेपालमा पहिलोपटक भित्रिएको यस खेलको पोखरामा शुक्रबारबाट प्रतियोगिता सुरु भएको छ ।
पोखरास्थित ब्रिटिश गोर्खा ट्रेनिङ सेन्टरको ब्याडमिन्टन कोर्टमा पिकलबलको दुई दिने प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिता नेपाली खेलाडी भने सहभागि छैनन । दुई दिन सम्म चल्ने यो प्रतियोगितामा भारत र बेलायतका गरि २६ जना खेलाडी सहभागी छन । लिग कम नकआउटका आधारमा जारी प्रतियोगितामा बेलायतबाट १० र भारतका १४ जना खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
बेलायतलाई कर्म थलो बनाएर खेल तथा सामाजिक क्षेत्रमा कृयाशिल नविन गुरुङको सक्रियतामा यो खेल पहिलो पटक नेपाल भित्रिएको हो । सहारा क्लब पोखरामा मानार्थ सदस्य समेत रहेका गुरुङले केही भारतिय र बेलायती खेलाडीलाई पोखरा ल्याएर आफ्नै पहलमा प्रतियोगिता आयोजना गरेको हो ।
अमेरिकाको ब्रेन व्रिज द्विपमा आविष्कार भएको यो खेल अहिले विश्वका अधिकांश मुलुकमा खेलिन्छ । बाल बालिका देखि प्रौढ उमेर समुह सम्मले सजिलै खेल्न सक्ने पिकलबल टेबल टेनिस, ब्याडमिन्टन र टेनिसको समृष्णयूक्त खेल हो । यो
खेल ब्याडमिन्टन कोर्टमा खेल्न सकिन्छ भने विचमा लगाइएको नेट जमिन भन्दा ३६ इन्च मात्रै उठाइएको हुन्छ । शुलभ र टेबल टेनिसको र्याकेट भन्दा केही ठूलो आकारको र्याकेटले खेलिने यो खेलको बल भने टेनिस आकारमा प्लाष्टिकको जाली परेको हुन्छ । सिङ्लस, डवल्स्, मिक्स डवल्स् सबै विद्यामा यो खेल हुने गर्छ ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सांसद कृष्ण थापाले गरेका थिए । सांसद थापाले सो अबसरमा पिकलबल खेल नेपालमा भित्रायाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
कार्यक्रम सहारा क्लबका अध्यक्ष केशब थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल टुरिजम कलेज पोखराका अध्यक्ष अशको पालिखे र सहारा क्लबका पूर्व अध्यक्ष बिक्रम थकाली लगाएतको उपस्थिती रहेको थियो ।
नेपालमा पिकलबल भित्राउन सफल गुरुङले यस खेल नेपालको राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएर आधिकारिक रुपमा अघि बढेको हेर्ने चाहना रहेको बताए ।