धनगढी । ललितपुरे क्लब थ्री स्टारलाई सहिद स्मारक ए डिभिजन लिगको नतिजा अपेक्षित रहेन । उपाधि जित्ने लक्ष्य सहित स्टार खेलाडी जम्मा गरेको थ्री स्टार तेस्रो स्थानमा रहन समेत संघर्ष गर्न पर्यो ।
लिगको दौरान थ्री स्टारले केही नमिठो हार ब्यर्होयो । त्यो हार चखाउने एउटा क्लब थियो, विभागीय टिम पुलिस ।
पुलिससंगको हारले थ्री स्टार उपाधि होडबाट बाहिरिन मात्र परेन, शीर्ष तीनको सम्भावना समेत कमजोर बनेको थियो ।
फेरी दुवै टोली एक पटक मैदान उत्रदैछन्, खप्तड गोल्डकपको फाईनलमा ।
लिगमा ब्यहोरेको हारको बदला लिने अवसर अब थ्री स्टारलाई प्राप्त छ । यता पुलिस भने थ्री स्टारविरुद्व लिगको प्रर्दशनलाई फाईनल खेलमा निरन्तरता दिन चाहन्छ ।
जसले उपाधि जित्छ, त्यसको हातमा मोफसलको सर्वाधिक पुरस्कार राशी २१ लाख हात पर्नेछ ।
लिग पछि पहिलो पटक मोफसलमा सहभागि दुवै टोली खप्तड गोल्डकपको उपाधि उचाल्दै गोल्डकप फुटबलमा आफुलाई अब्बल सावित गर्न चाहन्छन् ।
खेल अगाडी शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्ने दाबी गरे ।
पुलिसका कप्तान बिक्रम धिमालले प्रशिक्षकको निर्देशनलाई खेलमा उतार्ने प्रयास गर्ने बताए । टिम निकै प्रोत्साहीत भएको बताउँदै उनले उपाधि जित्न आफुहरु सकारात्मक रहेको उल्लेख गरे ।
पुलिसका प्रशिक्षक अनन्त थापाले टिम निकै उत्साहीत रहेको बताउँदै आफुहरु फाईनलका लागि तयार रहेको बताए । टिम प्रर्दशनमा सुधार आएको दाबी गर्दै उनले थ्री स्टारविरुद्व आक्रमक खेल पस्किने उल्लेख गरे ।
लिगमा ३–१ को जित निकालेपनि थ्री स्टार उत्कृष्ट टिम हो । उपाधिका लागि कडा मेहनत गर्नेछौ ।’ उनले भने ।
डिफेन्स र मिडफिल्डमा आफु बलियो रहेको संकेत गर्दै प्रशिक्षक थापाले फरवार्ड लाईन चल्न सकेमा उपाधि जित्ने दाबी गरे ।
‘खेल आधा आधा हो । जसले गोल गर्न सक्छ । उसैले जित्नेछ ।’ उनले भने ।
यता थ्री स्टारका कप्तान बिक्रम लामाले लिगको उतार चढाबपछि आफुहरु राम्रो नतिजाका लागि खेल्ने बताए ।
सेन्टर डिफेन्सबाट मिडफिल्डमा फर्किएका कप्तान बिक्रमले भने, ‘म आफ्नै पोजिसनमा खेल्न पाएको छु । पुलिस उत्कृष्ट छ । टिमको कडा परिश्रमले उपाधि हासिल गर्न हामी तत्पर छौ । लिगमा पुलिससंग हारेपनि खप्तडमा शतर्क भएर खेल्नेछौ ।’
थ्री स्टारका प्रशिक्षक उज्जवल मानन्धरले आफुहरु उपाधिका लागि सुदुरपश्चिम आएको बताए ।
‘हामी उपाधिका लागि यहाँ छौ । लिगपछिको खेल हेर्दा खेलाडीहरु निकै फरक र उत्साहित देखिएका छन् ।’ उनले भने ।
प्रतियोगिताको फाईनल खेल भोली (शनिबार) हुदैछ । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख पाउनेछ । प्रतियोगिताको साविक विजेता आर्मीलाई दोस्रो संस्करणमा सहभागि गराईएको छैन ।